जिल्ला प्रहरी कार्यालय बाँकेले गत चैत्र ४ गते बैजनाथ गाउँपालिका वडा नं. २ मकैबारी स्थित मानखोलाबाट अवैध रूपमा नदीजन्य उत्खनन् गरिरहेको अवस्थामा एक थान जेसिबी, टिप्पर २ र ट्याक्टर १ सहित जम्मा ४ वटा सवारीसाधन नियन्त्रणमा लियो ।
गत चैत्र ९ र १० गते कोहलपुरका विभिन्न ठाउँबाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् तथा ढुवानी गर्ने १ थान जेसिबी, २ थान टिप्पर १ थान ट्याक्टर प्रहरीले नियन्त्रणमा लियो ।
चैत्र ११ गते राप्तीसोनारी गाउँपालिका वडा नं. २ बाट अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन् तथा ढुवानी गर्ने टिप्परलाई नियन्त्रणमा प्रहरीले लियो । त्यस्तै, चैत्र १५ गते बैजनाथ गाउँपालिका २ बाट प्रहरीले १ टिप्पर र २ ट्याक्टरलाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ढुवानी गरेको भन्दै नियन्त्रणमा लियो ।
बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले नदीजन्य पदार्थको अवैध उत्खनन् र ढुवानी गरेको फेला पदार्थ सम्बन्धित स्थानीय तहमा आवश्यक कारवाहीका लागि नियन्त्रणमा लिई बुझाउने गरेको बताउँछन् । यी केही घटना प्रहरीले नियन्त्रणमा लिएपछि बाहिरिएका हुन् । राताराता बाँकेमा नदीमा अवैध रूपमा उत्खनन हुने गरेको नदी आसपासका क्षेत्रमा बस्ने बासिन्दाहरूले बताउँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, प्रहरीले गत फागुन महिनामा प्राकृतिक दोहनमा संलग्न १२ वटा सवारीसाधन नियन्त्रणमा लिएको थियो । नदीजन्य पदार्थको अवैध कारोबारमा थोरै आर्थिक दण्ड मात्रै हुने थप कारवाही नहुँदा रोकिन नसकेको स्थानीय बताउँछन् ।





























