मधु पौडेल
नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले समयमै विद्युत महसुल नबुझाउने उपभोक्ताहरूको धमाधम लाइन काट्न थालेको छ । वितरण केन्द्रले गत चार महिनाको अवधीमा मात्रै बक्यौता असुलीका लागि चार हजार बढी उपभोक्ताको लाइन काटेको तथ्यांक रहेको छ ।
पछिल्लो चार महिनामा नेपालगन्ज वितरण केन्द्रले करिब ४ हजार १ सय उपभोक्ताको लाइन काटेको छ । यस क्रममा ६ करोड ४२ लाख २४ हजार ५ सय ५६ रूपैयाँ बराबरको बक्यौता उठाउन लाइन काटिएको थियो ।
लाइन काटिएका उपभोक्तामध्ये ३ हजार ३ सय उपभोक्ताले बक्यौता रकम भुक्तानी गरेको छन् । जसबाट ४ करोड २९ लाख १ हजार ५ सय ६२ रूपैयाँ असुली भएको छ । बाँकी उपभोक्ताहरूबाट रकम उठाउने प्रक्रिया जारी रहेको छ ।
प्राधिकरणले लाइन काटिएको छ महिनासम्म पनि रकम नबुझाउने उपभोक्तालाई कालोसुचीमा राख्ने व्यवस्था लागु गरको छ । कालोसुचीमा परेका उपभोक्ताबाट हालसम्म ५ लाख रूपैयाँभन्दा बढि महसुल उठाइएको वितरण केन्द्रले जनाएको छ । यो कदमले उपभोक्तामा समयमै बिल तिर्ने बानी बसाल्न सहयोग पुगेको प्राधिकरणको भनाइ छ ।
पछिल्लो समय नेपालगंज विद्युत प्राधिकरणको कुल बाँकी बक्यौता रकम लगभग ४६ करोड असुल गर्न बाँकी रहेको छ भने कालोसुचीमा परेकाको सँख्या ३०८ रहेको छ जसको रकम करीब १ करोड ४० लाख रहेको छ जसबाट असुली मात्र ६ लाख गरीएको छ ।
नेपालगन्जमा विद्युत काटिने अर्को प्रमुख कारण उपभोक्ताले समयमै महसुल नबुझाउनु रहेको छ । प्राधिकरणका अनुसार प्रत्येक महिनाको बिलमा उपभोक्तालाई छुटको व्यवस्था गरिएको छ । विल आएको सात दिनभित्र भुक्तानी गरेमा २ प्रतिशत छुट पाइन्छ भने १५ दिनभित्र तिरेमा कुनै जरिवाना लाग्दैन । तर लगातार दुई महिनासम्म बिल नबुझाएमा उपभोक्ताको लाइन काट्ने नियम रहेको छ । यस नियमलाई कडाइका साथ लागु गरिएको वितरण केन्द्रले जनाएको छ ।
गर्मीमा लोडेसेडिङ नहुने दाबी
नेपालकै अत्यधिक गर्मी हुने स्थानका रूपमा परिचित बाँकेको नेपालगन्जमा गर्मी मौसममा विद्युत आपुर्ति अवरुद्ध नहुने दाबी गरिएको छ । नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रका प्रमुख सञ्जय कुमार मिश्राका अनुसार, पछिल्लो समय गरिएको प्राविधिक सुधार र संरचनागत व्यवस्थापनका कारण अब विद्युत आपूर्ति भरपर्दो र नियमित हुने भएको हो ।
केन्द्रीय प्रसारण लाइनबाटै विद्युत आपूर्ति
हाल नेपालगन्ज क्षेत्रमा करिब २२ देखि २३ मेगावाटसम्म विद्युत खपत भइरहेको छ । विगतमा भारतबाट ३३ केभी लाइनमार्फत विद्युत ल्याएर माग धान्ने व्यवस्था गरिएको थियो । तर अहिले सो लाइन प्रयोग नगरी केन्द्रिय प्रसारण लाइनबाटै पर्याप्त विद्युत आपूर्ति भइरहेको वितरण केन्द्रले जनाएको छ । यसले नेपालगन्जमा उर्ज आत्मनिर्भरता बढेको संकेत पनि दिएको छ ।
विगतमा नेपालगन्जमा बारम्बार विद्युत कटौती हुनुको मुख्य कारण ११ केभीका सवस्टेसनहरूमा अत्यधिक लोड हुनु थियो । प्राधिकरणले गरेको अध्ययनले ती सवस्टेसनहरू ओभरलोड भएको पुष्टि गरेपछि समस्या समाधानका लागि नयाँ फिडर जडान गर्ने काम सुरु गरिएको थियो ।
नेपालगन्जमा हाल तीनवटा प्रमुख सवस्टेसनहरू सञ्चालनमा छन् । ती सवस्टेसनहरूमा फिडरको संख्या बृद्धि गरेर विद्युत लोडलाई सन्तुलन गरिएको छ । उदाहरणका लागि बसपार्क क्षेत्रमा रहेको सबस्टेसनमा फिडर संख्या ७ बाट थप दुई फिडर बढाएर ९ पुर्याइएको छ । त्यस्तै वितरण केन्द्रको कार्यालय परिसर र राझा सवस्टेसनमा पनि फिडर संख्या थप गरी समग्र प्रणालीलाई सुदृढ बनाइएको छ ।
चार महिनामा देखिएको सुधार
पछिल्लो चार महिनामा नेपालगन्ज वितरण केन्द्रले पुराना संरचनामा सुधार गर्दै थप फिडर जडान गरेको छ । यसबाट विद्युत लोड व्यवस्थापनमा सहजता आएको र आपूर्ति प्रणालीमा एकरूपता कायम भएको कार्यालयले जनाएको छ ।
प्रमुख मिश्राका अनुसार, यहाँको अवस्था अध्ययन गर्दा मुख्य समस्या ओभरलोड रहेको पाइएको बताए । ‘त्यसलाई समाधान गर्न फिडर थपेर लोड सन्तुलन गरिएको छ । अब सामान्य अवस्थामा विद्युत आपुर्तिमा कुनै समस्या आउने छैन’, उनले भने ।
गर्मीमा पनि निरन्तर आपूर्ति हुने दाबी
प्राधिकरणले आगामी गर्मी मौसममा विद्युत आपूर्ति अवरुद्ध नहुने दाबी गरेको छ । प्राकृतिक विपत्ति जस्ता आकस्मिक अवस्था बाहेक प्राविधिक कारणले विद्युत नकट्ने विश्वास दिलाइएको छ । यसले गर्मीका बेला अत्यधिक विद्युत खपत हुने नेपालगन्जका उपभोक्तालाई ठुलो राहत दिने अपेक्षा गरिएको छ । विशेष गरी व्यापार उद्योग तथा घरेलु उपभोक्ताका लागि यो महत्वपूर्ण खबर हो ।
नेपालगन्जमा विद्युत व्यवस्थापनमा गरिएको सुधारले आगामी दिनमा लोडसेडिङको समस्या न्यून हुने देखिएको छ । प्राविधिक सुधार, फिडर विस्तार र कडाइका साथ लागु गरिएको महसुल संकलन प्रणालीले विद्युत सेवा थप व्यवस्थित बनेको छ । अब उपभोक्ताले पनि समयमै विल तिरेर सहकार्य गरेमा नेपालगन्जमा स्थायी रूपमा गुणस्तरीय र अवरोधरहित विद्युत आपुर्ति सुनिश्चित हुने देखिन्छ ।
