सचेतनाको उज्यालो बाल्दै नयाँ आशाको सुरुवात
बाँकेको नेपालगन्जमा पहिलो पटक विश्व अटिजम सचेतना दिवस मनाइएको छ । १९औं विश्व अटिजम सचेतना दिवसको अवसरमा उज्यालो फाउण्डेशनले कारकाँदो चोकमा साँझ द्वीप प्रज्ज्वलन गर्दै सचेतनाको सन्देश फैलाएको हो ।
साँझको झलमल्ल वातावरणबीच अटिजम भएका व्यक्तिहरू, उनीहरूका अभिभावक र सामाजिक अगुवाहरू एकै ठाउँमा भेला भए। हातमा मैनबत्ती बोकेर उनीहरूले केवल उज्यालो मात्र होइन, अटिजमप्रति बुझाइ र स्वीकार्यताको सन्देश पनि फैलाए ।
कार्यक्रम फाउण्डेशनका अध्यक्ष सूर्यमणि अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बौद्धिक अपाङ्गता अभिभावक संघका केन्द्रीय सचिव गोकर्ण आचार्यले पश्चिम नेपालमा अटिजमको वर्तमान अवस्था र चुनौतीबारे जानकारी गराउँदै अझ बढी सचेतना र सहकार्य आवश्यक रहेको औंल्याए ।
अध्यक्ष अधिकारीले बाँकेमा पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न पाउनु आफैंमा महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसले अटिजमप्रति समाजको दृष्टिकोण परिवर्तन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमले केवल एक दिनको सचेतना मात्र होइन, दीर्घकालीन पहलको संकेत पनि दिएको छ । पश्चिम नेपालमै पहिलो पटक नेपालगन्जमा अटिजम भएका बालबालिकाका लागि थेरापी र डे–केयर सेन्टर सञ्चालनको तयारी भइरहेको छ । अध्यक्ष अधिकारीका अनुसार, आकार फाउण्डेशनको प्राविधिक सहयोगमा नयाँ वर्षसँगै सञ्चालनमा आउने उक्त केन्द्र ५० जना बालबालिकालाई सेवा दिन सक्ने क्षमतासहित तयार पारिँदैछ ।
यस पहलले अटिजम भएका बालबालिका र तिनका परिवारका लागि आशाको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । उज्यालो फाउण्डेशनले सुरु गरेको यो यात्रा अब केवल कार्यक्रममै सीमित नभई समाज रूपान्तरणतर्फ अघि बढ्ने संकेत देखिएको छ ।
