‘उद्यमशीलता र पारदर्शिता, सहकारीको प्राथमिकता’ भन्ने मुख्य नाराका साथ बाँकेका सहकारीहरुले नेपालगन्जमा शुक्रवार ६९औँ राष्ट्रिय सहकारी दिवस भव्य रूपमा मनाएका छन् ।
जिल्ला सहकारी संघ बाँकेको अगुवाइमा आयोजना गरिएको उक्त कार्यक्रममा जिल्लाभरका करिब १ हजार ३ सयबढी सहकारीकर्मीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।
संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी सञ्चालक एकता शाह प्रमुख अतिथिका रूपमा सम्बोधन गरिन् । कार्यक्रममा जिल्ला स्थित विभिन्न विषयगत संघका अध्यक्षहरू, राप्ती सोनारी गाउँपालिकाको सहकारी शाखा प्रमुख गंगा वली लगायत सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको संघका प्रमुख कार्यकारी अधिकृत नवराज उपाध्यायले जानकारी दिए ।
दिवसको अवसरमा सहकारी क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । जसअनुसार उत्कृष्ट सहकारी संस्था लि. तर्फ नेपालगन्जस्थित ‘वेस्टर्न बचत तथा ऋण सहकारी संस्था लि.’ सम्मानित भएको छ । वेष्टर्नलाई ‘उत्कृष्ट सहकारी पुरस्कार–२०८२’ प्रदान गरिएको हो ।
त्यसैगरी, उत्कृष्ट सहकारीकर्मीका रूपमा ग्रामीण विद्युत सहकारी संस्थाकी व्यवस्थापक कल्पना बस्नेतलाई पुरस्कृत गरिएको छ भने जिल्ला सहकारी संघतर्फ उत्कृष्ट कर्मचारीका रूपमा अस्मिता मल्ल सम्मानित भएको प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताए ।
कार्यक्रममा वक्ताहरूले सहकारी क्षेत्रको सुदृढीकरण, पारदर्शिता प्रवद्र्धन तथा उद्यमशीलताको विकासमार्फत आर्थिक समृद्धिमा सहकारीको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिएका थिए ।
