सीमा अनुगमनमा भारतीय प्रहरी अधिकारी

सीमाक्षेत्रको सुरक्षा अवस्थालाई प्राथमिकता

नेपाल–भारत सीमावर्ती क्षेत्र रुपईडीहामा सुरक्षा व्यवस्थाको अनुगमन गर्दै बहराइचका नवागत प्रहरी प्रमुख विश्वजीत श्रीवास्तवले पहिलो क्षेत्रीय निरीक्षण गरेका छन् । पदभार सम्हालेपछि उनको यो पहिलो सीमावर्ती भ्रमण हो, जसलाई सुरक्षा सुदृढीकरणको संकेतका रूपमा हेरिएको भारतीय पत्रकार सन्तोषकुमार शुक्लले बताए ।

गत मार्च ३० मा पूर्व प्रहरी प्रमुख रामनयन सिंहको सरुवा भएपछि श्रीवास्तव बहराइचको नयाँ प्रहरी अधीक्षकमा नियुक्त भएका थिए । जिम्मेवारी सम्हालेसँगै सीमाक्षेत्रको सुरक्षा अवस्थालाई प्राथमिकतामा राख्दै उनले शुक्रबार रुपईडीहा स्थित आदर्श थाना कोतवालीको आकस्मिक निरीक्षण गरेका हुन् ।

पत्रकारहरूसँग कुराकानी गर्दै एसपी श्रीवास्तवले भारत–नेपाल सीमा संवेदनशील भएकाले यहाँको सुरक्षा व्यवस्था अझ मजबुत बनाइने बताए । उनले सीमामा हुने अवैध गतिविधिमाथि कडा निगरानी राखिने र त्यस्ता कार्यलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराखिने स्पष्ट पारे । नेपाल मित्र राष्ट्र भएकाले आम नागरिकको आवतजावत सहज बनाइने तर अवाञ्छित गतिविधिमा संलग्नमाथि कडा कारबाही गरिने उनको भनाइ थियो ।

निरीक्षणका क्रममा उनले थाना परिसरको सरसफाइ, अभिलेख व्यवस्थापन, शस्त्रागार तथा समग्र प्रशासनिक व्यवस्थाको सूक्ष्म अवलोकन गरे । आवश्यक सुधारका लागि सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिँदै सेवाप्रवाह प्रभावकारी बनाउन जोड दिए ।

त्यसपछि प्रहरी अधीक्षक श्रीवास्तव भारत–नेपाल अन्तर्राष्ट्रिय सीमासम्म पुगेर सुरक्षा अवस्थाको प्रत्यक्ष मूल्याङ्कन गरे । सीमाबाट आवतजावत गर्ने व्यक्तिहरूको जाँच प्रक्रिया अवलोकन गर्दै उनले थप सतर्कता अपनाउन निर्देशन दिए ।

अनुगमनका क्रममा थाना प्रभारी रमेश सिंह रावत, सशस्त्र सीमा बलका असिस्टेन्ट कमाण्डेन्ट सुनील कुमार शान्ति लगायतका सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो । सोही अवसरमा नेपालतर्फका सुरक्षा निकायसँग पनि समन्वय बैठक भएको थियो, जहाँ किरण मल्ल तथा सशस्त्र प्रहरी बल बाँकेका अधिकारी के. भट्टसँग सीमा सुरक्षासम्बन्धी विषयमा छलफल गरिएको थियो ।

Exit mobile version