युवतीको जली मृत्युकाण्ड: फरार अभियुक्तका बुवा र भाइ पक्राउ

नेपालगञ्ज उप-महानगरपालिका–१२ कोरियनपुरमा २२ वर्षीया सृजना बुढा मगरको जली मृत्यु भएको घटनामा संलग्न भनिएका फरार व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार चैत १४ गते राति करिब ११:३५ बजे सडकमा जली अवस्था भेटिएकी सृजनाको मृत्यु भएपछि परिवारको जाहेरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मुख्य अभियुक्त मो. आरिफ ढपाली, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिइएको थियो।

घटनापछि फरार रहेका आरिफका बुवा रहमद ढपाली (बर्ष ५०) र भाइ मो. आदिल ढपाली (बर्ष २१) लाई प्रहरीले चैत ३० गते पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी रहेको छ र दोषीमाथि कानुन बमोजिम कारबाही गरिनेछ।

Exit mobile version