बाँकेमा चैत्र महिनामा मात्रै चैत महिनामा कुल २ सय १ वटा मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चैत महिनामा सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गर्दै तीमध्ये जघन्य अपराधका ९ तथा गम्भीर प्रकृतिका ६० वटा, सामान्य अपराधका १ सय ३२ वटा तथा महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ वटा मुद्दा दर्ता भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक रमेश विष्टले २ सय २ मुद्दामा १ सय ७१ जनालाई पक्राउ गरेको जानकारी दिएका छन् । चैत्र महिनामा आर्थिक अपराधका ५६ वटा घटना दर्ता भएको प्रहरीको तथ्यांक रहेको छ ।
चैत्रमा फैसला कार्यान्वयनतर्फ ६२ जना पक्राउ परेका छन् । उनीहरूबाट १९ वर्ष १ महिना २४ दिन कैद कार्यान्वयन गरिएको छ । साथै पक्राउ परेका फरारहरूबाट २८ लाख ८९ हजार २८० रूपैयाँ बिगो तथा क्षतिपूर्ति असुल गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको थियो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १ सय ३ वटा उजुरी परेकोमा ८२ वटा फछ्र्योट चैत्र महिनामा नै भएका छन् भने २१ वटा बाँकी रहेका छन् । चैत्र महिनामा हराएका व्यक्तिहरूमध्ये महिला २५, बालिका १९, बालक ४, ज्येष्ठ नागरिक १ र पुरुष ४ जना रहेका छन् । तीमध्ये केही फेला परे पनि महिला १४, बालिका ६ र अन्य केही अझै फेला पर्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
चैत्र महिनामा घरेलु हिंसाका ६८ वटा उजुरी परेकोमा ५२ वटा मिलापत्र गरिएको छ ।
त्यस्तै, बाँके प्रहरी कार्यालयमा प्रत्यक्ष परेका ५ सय २३ वटा ठाडो उजुरीमध्ये ३ सय २६ वटा फछ्र्योट भइसकेका छन् भने १ सय ९१ वटा अझै बाँकी रहेका छन् ।
लागुऔषध नियन्त्रणतर्फ २२ वटा मुद्दा दर्ता
गरी ४३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । यस क्रममा ब्राउन सुगर, गाँजा, ट्रामाडोल क्याप्सुल र नाइट्राजेपाम ट्याब्लेट बरामद गरिएको छ ।
चैत्र महिनामा मात्रै ११ वटा आत्महत्या घटनाहरू भएका छन्, जसमा अधिकांश झुण्डिएर १० तथा एक जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । लिङ्गअनुसार पुरुष ७ र महिला ४ जना रहेका छन् ।
अपराध न्यूनीकरणका लागि प्रहरीले विद्यालय तथा समुदायमा १२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट २ हजार ७ सय १८ जना (पुरुष १ हजार ६ सय ७४ र महिला १ हजार ४४) लाभान्वित भएका छन् ।
चैत्रमा शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालनअन्तर्गत ९८५ पटक पिकेट, ७२५ पटक चेकिङ्ग, ४ हजार ४ सय ५७ पटक ग्रामीण गस्ती र १५ पटक ग्रामीण गस्ती सञ्चालन गरिएको जनाइएको छ ।
