रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाबाट गैरकानुनी रूपमा बर्दिया लैजान लागिएका १५ जना बालबालिकाको उद्धार गरिएको छ ।
राष्ट्रिय बहाई समुदाय नामक संस्थाले सानीभेरी-४ का १५ जना बालबालिकालाई १० दिने नैतिक शिक्षा सिकाउने भनी बर्दिया लैजान लागिएका बालबालिकाको बिहीबार बिहान उद्धार गरिएको हो ।
गाडीमार्फत लैजान लागिएका उनीहरूलाई वडाको स्यालबासे भन्ने स्थानबाट बिहान ७ः०० बजेतिर सानीभेरी गाउँपालिकाको पहलमा उद्धार गरी अभिभावकको जिम्मा लगाइएको गाउँपालिकाका बालकल्याण अधिकारी मानवीर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार १५ जना बालबालिकालाई सम्बन्धित अभिभावकको लिखित मन्जुरी नलिइ, वडा कार्यालयसँग कुनै पनि समन्वय नगरी तथा गाउँपालिकामा कुनै जानकारी नगराइ गैरकानुनी रूपमा बर्दिया लैजाँदै गरेको अवस्थामा वडा नं ४ समेतको समन्वयमा प्रहरीले उद्धार गरेको हो ।
पालिकाका बालकल्याण अधिकारी ओलीको सहजीकरणमा बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । पन्ध्र जना बालबालिकामध्ये नौ जना बालक र छ जना बालिका रहेका ओलीले जानकारी दिनुभयो । तीमध्ये १३ वर्षदेखि १७ वर्षसम्मका बालबालिका रहेका उहाँको भनाइ छ ।
कुन प्रयोजनका लागि लैजान लागिएको हो, कानुनी प्रक्रिया किन पूरा गरिएनलगायत विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
