तरकारीभित्र लुकाएर ल्याइएको लागूऔषधसहित दुई जना पक्राउ

बर्दिया प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शनिबार बेलुकी ७:३० बजे प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–७ कण्ठपुर चेकपोष्टमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंकाका आधारमा जाँच गरेको थियो।

जाँचका क्रममा ठाकुरबाबा नगरपालिका–५ बस्ने ३६ वर्षीय पवन श्रेष्ठ र सोही स्थानका ३० वर्षीय प्रविन कुमार थारुले बोकेको तरकारीभित्र लुकाइछिपाई राखिएको अवस्थामा खैरो रंगको गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

निलो प्लास्टिकमा बेरिएको एक पुडियासहित ८२० मिलिग्राम तथा प्लास्टिक हटाई शुद्ध तौल गर्दा ७१० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

Exit mobile version