नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । उहाँले आज विज्ञप्ति जारी गरी विद्यार्थी सङ्गठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णय लोकतान्त्रिक मूल्य–मान्यता विपरीत र अधिनायकवादी प्रवृत्ति रहेको बताउनुभयो । नेता खड्काले नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा विद्यार्थीको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । निर्दलीय पञ्चायती व्यवस्थाको समयमा राजनीतिक दलमाथि प्रतिबन्ध हुँदा विद्यार्थी सङ्गठनहरूले लोकतन्त्रको पक्षमा जनचेतना फैलाएको उहाँको भनाइ छ । नेता खड्काले विसं २०३६/३७ सालको विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन तथा २०६२/६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान राजनीतिक व्यवस्था स्थापना सम्भव भएको बताउनुभयो । वर्तमान सरकारले लोकतान्त्रिक स्वतन्त्रताको उपयोगबाट उदाएका युवा नेतृत्व बालेन शाहलाई स्थापित गर्ने वातावरण बनेको भए पनि सोही सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण रहेको नेता खड्काको भनाइ छ । विद्यार्थी सङ्गठनलाई केवल राजनीतिक आस्थासँग जोडिएका संस्था मात्र नभई शैक्षिक क्षेत्रका विकृति र विसङ्गति विरुद्ध आवाज उठाउने वैधानिक निकायको रूपमा वर्णन गर्नुभएको छ । नेता खड्काले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन र विद्यार्थी सङगठनहरूको गरिमा कायम राख्न आग्रह गर्नुभयो । अन्यथा, लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने उहाँले चेतावनी दिनुभयो ।
विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णयप्रति नेता खड्काको आपत्ति
- Dainik Nepalgunj

- Categories: Politics
Related Content
कांग्रेसको ‘जरा अभियान’ मा
by
Dainik Nepalgunj
April 15, 2026
रिहा भइसकेपछि के भने त पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले
by
Dainik Nepalgunj
April 9, 2026
१३ दिनपछि छुटे ओली
by
Dainik Nepalgunj
April 9, 2026
एमाले बाँकेले गर्यो, ‘निर्वाचन हारको समीक्षा’
by
Dainik Nepalgunj
March 30, 2026
जेनजी आन्दोलनपछि बनेको आयोगले रमेश लेखकबारे के निष्कर्ष निकालेको थियो ?
by
Dainik Nepalgunj
March 28, 2026