जिल्ला प्रहरी कार्यालय नेपालगन्ज, बाँकेले लागूऔषध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अपरेशनमा १२७ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बुधबार साँझ ५:३० बजेदेखि राति १२ बजेसम्म नेपालगन्ज र कोहलपुर क्षेत्रका विभिन्न स्थानमा कारबाही गरिएको हो।
अपरेशनका क्रममा लागूऔषध बिक्री–वितरण, ओसारपसार तथा सेवनमा संलग्न १११ जना र विभिन्न होटलहरूमा अनैतिक क्रियाकलापमा संलग्न १६ जना नियन्त्रणमा लिइएका हुन्।
पक्राउ परेकामध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ निवासी ३१ वर्षीय साहिल नेपालीविरुद्ध लागूऔषध मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, सुर्खेत वीरेन्द्रनगर–१३ घर बताउने २२ वर्षीय चन्द्र नेपालीलाई १० दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
विभिन्न होटलबाट नियन्त्रणमा लिइएका व्यक्तिमध्ये दुई जना होटल सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
यस्तै, लागूऔषध सेवनकर्ताहरूलाई अभिभावकसहित परामर्श दिई अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
