लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण क्रमशः घट्दो अवस्थामा पुगेको छ । तरार्ईका जिल्लाको तुलनामा पहाडी जिल्लामा भने चैते धानखेती विस्तार भए पनि सन्तोषजनक छैन ।
तराईका जिल्लामा धानखेतीको विकल्पमा हिउँदे मकैखेती लगाउने, केही जिल्लामा चिनी मिल सञ्चालनमा आएपछि किसान नगदे बालीको रुपमा उखुखेतीतर्फ आकर्षित हुँदा धानखेतीको क्षेत्रफल क्रमशः खुम्चिदै गएको छ । केही पहाडी जिल्लामा भने गहुँखेती भित्र्याएपछिको खाली जमिनको सदुपयोगका लागि चैते धान उपयोगी देखिँदा किसान चैते धानखेतीमा आकर्षित भएका पाइन्छन् ।
लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–६, खिल्जी दूरवाङका किसान यतिबेला चैते धान रोपाइँमा व्यस्त छन् । त्यसभेगका दूरवाङ, खङलङ, खँडारे र पिपली फाँटमा वर्षौंदेखि हुँदै आएको चैते धानखेती यहाँका किसानको जीवनशैली जस्तै बनेको छ ।
स्थानीय किसान पुनाराम गैरेले चैते धान रोपाइँका लागि झिमरूक नदीबाट पानी ल्याएर सिँचाइको व्यवस्थाका कारण सम्भव भएको हो । तर पछिल्ला वर्षमा मलको अभाव र मजदूर नपाइने समस्या गम्भीर बन्दै गएको उहाँ बताउनुहुन्छ । सिँचाइको कुलोलाई थप व्यवस्थित गर्नुपर्ने, कृषि उपकरणको सहजता, मौलिक रैथाने बीउको संरक्षण र जैविक मलमा पनि आकर्षण बढाउन जरुरी रहेको गैरे बताउनुहुन्छ ।
चैते धानखेती अर्घाखाँचीमा सँगै छिमेकी प्यूठानको ऐरावती गाउँपालिकाका बैरेनी, दमार, कुमाल गाउँका फाँटमा पनि झिमरूक नदीकै सिँचाइको भरमा चैते धान लगाइँदै आएको छ । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार अघिल्लो वर्ष तीन हजार ३८ हेक्टरमा भएको चैते धानको रोपाइँ गत वर्ष घटेर दुई हजार ६७७ हेक्टरमा सीमित भएको थियो । एकै वर्षमा ४११ हेक्टर क्षेत्रफल घटेको छ । यस वर्ष अझ घट्ने विभिन्न जिल्लाबाट प्राप्त प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।
लुम्बिनी प्रदेशमा उत्पादकत्वमा भने सुधार भएको छ । तर क्षेत्रफल विस्तार भने सुस्त देखिएको छ । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१÷८२ मा धान उत्पादन १३ लाख ५० हजार ८८० मेट्रिक टन पुगेको छ । प्रदेशभर कूल दुई लाख ९८ हजार ६२२ हेक्टरमा धानखेती गरिएकामा औसत उत्पादकत्व प्रतिहेक्टर ४.५२ टन रहेको तथ्याङ्कले देखाएको छ । यसमध्ये वर्षे धानको हिस्सा अत्यधिक छ भने चैते धानको योगदान अझै सीमित देखिन्छ ।
प्रदेशका १२ जिल्लामध्ये रोल्पा र रुकुमबाहेक सबै जिल्लामा चैते धानखेती हुने भए पनि अधिकांश तराईका जिल्लामा यसको खेतीमा गिरावट देखिएको छ । प्रदेशमै अन्नको भण्डारको रुपमा चिनिने बर्दियामा नै अघिल्लो वर्ष एक हजार ४५० हेक्टरबाट घटेर गत वर्ष एक हजार २०१ हेक्टरमा झरेको छ । चैते धानप्रति किसानको आकर्षण घटनेक्रम कायमै रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारी बताउनुहुन्छ ।
आव २०७८÷७९ मा एक हजार ६०० हेक्टरमा चैते धान रोपाइँ भएको थियो । तर अहिले यसको खेती ६७९ हेक्टरमा मात्र सीमित भएको प्रमुख अधिकारी बताउनुहुन्छ । जिल्लामा चैते धान मात्र नभएर वर्षे धान लगाउने क्रम पनि क्रमशः घट्दो अवस्थामा रहेको उहाँ बताउनुहुन्छ ।
जिल्लामा चिनी उद्योग स्थापना भएपछि किसान धानखेतीमा भन्दा उखुखेतीमा आकर्षित भएका छन् । प्रमुख अधिकारीका अनुसार धानलगायतका बालीभन्दा उखु नगदे बालीको रुपमा रहेको, धेरै मेहनत गर्नु नपर्ने र कम लागतमा मुनाफा धेरै हुने भएकाले अधिकांश किसानले धानखेती छाड्दा यसको उत्पादन घट्दो अवस्थामा छ ।
पाल्पामा ७०० बाट ६३० हेक्टर, गुल्मीमा ३४० बाट ३१९ हेक्टर, अर्घाखाँचीमा २०० बाट १७० हेक्टर र रुपन्देहीमा ६० बाट ५४ हेक्टरमा सीमित भएको प्रदेश सरकारको तथ्याङ्क छ । कपिलवस्तुमा त झनै १० हेक्टरबाट घटेर पाँच हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
यद्यपि केही जिल्लामा सामान्य वृद्धि देखिएको छ । प्युठानमा गत वर्ष ११५ हेक्टरबाट यस वर्ष झण्डै ४०० हेक्टर, नवलपरासीमा ५ बाट सात हेक्टर, दाङमा १९८ बाट २०० हेक्टर र बाँकेमा ३५ बाट ३६ हेक्टर पुगेको छ । प्यूठानमा यस गत वर्ष ११५ हेक्टर क्षेत्रफलमा चैते धानखेती लगाइएको थियो । जसमा झण्डै ४३७ मेट्रिक टन उत्पादन भएको तथ्याङ्क छ । यस वर्ष चैते धानको खेती गत वर्षभन्दा दोब्बर बढी ४०० हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख विनोद शर्माले जानकारी दिनुभयो ।
जिल्लामा चैते धानखेतीलाई नै केन्द्रित गरेर सङ्घीय सरकारअन्तर्गत कार्यक्रम लागू भएकाले पनि किसानलाई उक्त कार्यक्रमको प्रोत्साहनका कारण चैते धानमा आकर्षण बढेको प्रमुख शर्माले बताउनुभयो । जिल्लामा सङ्घीय सरकारअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले विगत तीन वर्षदेखि चैते धानखेतीमा किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
परियोजनाअन्तर्गत तीन वर्षअघि ४०० रोपनी क्षेत्रफलमा चैते धानखेतीमा किसानलाई सहभागी गराइएको थियो । यस वर्ष चार हजार ५०० रोपनी क्षेत्रफलमा धानखेती लगाइएको कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका प्रमुख चुमानसिंह गिरी बताउनुहुन्छ । उहाँ किसानलाई गहँु स्याहारेपछिको चार÷पाँच महिना जमिन खाली हुने समयमा चैते धानखेतीका लागि प्रोत्साहित गर्दा जमिनको सदुपयोग र यसको उत्पादन पनि राम्रो पाएका किसान यसप्रति आकर्षित भएको बताउनुहन्छ । यसका लागि कार्यक्रमअन्तर्गत किसानलाई प्राविधिक सहयोग, बीउमा सहुलियत, सिँचाइ र कृषि औजारमा सहयोगको काम गर्दै आएको कार्यालय प्रमुख गिरी बताउनुहुन्छ ।
तराईका जिल्लामध्ये पश्चिम नवलपरासीमा निक्कै कम क्षेत्रफलमा चैते धानखेती लगाउने गरिएको छ । यहाँ चैते धानभन्दा मकैखेतीमा किसानको आकर्षण बढेकाले धानखेती बढ्न नसकेको कृषि ज्ञान केन्द्र पश्चिम नवलपरासीका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । चैते धानको बीउ विकास हुन नसक्नु, चैते धान मोटो प्रजातिको हुने भएकाले मसिनो धानप्रति किसानको आकर्षण, धान स्याहार्ने समयमा आकाशबाट पानी पर्ने समय हुने हुँदा किसानले नोक्सानी व्यहोर्नुपर्ने भय र उत्पादनको बजार पाउन समस्या हुने भएकाले यसप्रति खासै आकर्षण नभएको उहाँ बताउनुहुन्छ ।
पश्चिम नवलपरासीमा पनि सङ्घीय सरकारअन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम लागू भए पनि यो कार्यक्रम खासै प्रभावकारी हुन सकेको छैन । यद्यपि चुनौती पनि कम छैनन् । असारको वर्षामा धान भित्र्याउँदा सुकाउने समस्या, आधुनिक ‘ग्रेन ड्रायर’को अभाव र उपभोक्ताको मसिनो चामलप्रतिको आकर्षणले बजार प्रतिस्पर्धा कठिन बनाएको छ । चैते धानखेतीमा किसानको आकर्षण बढाउन सिँचाइ विस्तार, मल बीउको सुनिश्चितता, आधुनिक प्रविधिमा लगानी र विश्वसनीय तथ्याङ्क प्रणालीमा चसो दिनुपर्ने देखिन्छ ।
प्रदेश कृषि निर्देशनालयका अनुसार खेती घट्नुको मुख्य कारण गाउँमा युवा जनशक्तिको अभाव, वैदेशिक रोजगारीतर्फ आकर्षण र बढ्दो लागत हो । तरार्ईमा चैते धानभन्दा हिउँदे मकैखेती, उखुखेतीतर्फ आकर्षण बढ्दै गएको छ । कम लगानीमा पर्याप्त आम्दानी हुने भएकाले किसान वैकल्पिक बाली रोज्न थालेका हुन् ।
–––
