बढ्दै औलोको सङ्क्रमण

जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा १२ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ । दुई हजार ८५६ जनाको औलो परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार गत आर्थिक वर्षमा आठ हजार ४०५ को औलो परीक्षणका क्रममा ११ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो । उहाँले भन्नुभयो, “यहाँ भेटिएका सङ्क्रमित रोजगारीका शिलशिलामा बाहिर गएर आएकाहरूमा देखिने गर्दछ ।” उहाँका अनुसार वैदेशिक रोजगारमा भारत र शान्ति मिसनका लागि अफ्रिकन मुलुकमा गएर फर्किएकाहरूमा यो रोगको सङ्क्रमण देखिने गरेको छ ।

सीमा आवागमन र श्रम प्रवासमा गएकाहरुबाट औलोको उच्च जोखिम देखिएको किट नियन्त्रक केसीले जानकारी दिनुभयो । उहाँका अनुसार यो रोग एनोफिलिज जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । जटिल प्रकारको औलो देखिएमा सङ्क्रमितको ज्यानै जोखिममा पर्ने उहाँले बताउनुभयो । सरकारले सन् २०२६ सम्ममा स्थानीय औलोका रोगहरु शून्यमा पुर्‍याउने योजना सहित काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो । 

किट नियन्त्रक केसीका अनुसार यो रोग लागेमा टाउको दुख्ने, कामज्वरो आउने, जोर्नीहरू दुख्ने, रगतको कमी हुने, शरीर सिथिल हुने, वान्ता हुने, पेट दुख्ने, फियो सुनिने जस्ता लक्षण देखिन्छन् । 

यस रोगबाट बाँच्नका लागि लामखुट्टेको टोकाइबाट बच्ने, ज्वरो आउना साथ नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गर्ने, औलो देखिएमा उपचार गर्ने, झ्याल ढोकामा जालिको प्रयोग गर्ने, घर वरिपरि सरसफाइ राख्ने जस्ता उपाय अपनाउन उहाँले सुझाव दिनुभयो । जिल्लामा स्थानीयमा औलोको सङ्क्रमण नभएको उहाँको भनाइ छ ।

Exit mobile version