खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोट हुम्लाले चालु आर्थिक वर्षमा ४३ लाख १४ हजार छ सय रुपैयाँ बराबरको स्थानीयले उत्पादन गरेको सिमी खरिद गरेको छ ।

कार्यालयका लेखापाल कैलाश ऐडीका अनुसार २३ हजार ९७० किलो सिमी खरिद गरी बिक्रीका लागि सुर्खेत पठाइएको हो । त्यसैगरी सदरमुकाम सिमकोट सडक सञ्जालसँग जोडिएपछि बजारमा पर्याप्त मात्रामा चामल उपलब्ध हुँदा गत वर्षहरुको तुलनामा हाल खाद्य संस्थानको चामलको बिक्री घटेको कार्यालयले जनाएको छ । 

चालु आर्थिक वर्षमा सो कार्यालयले पाँच करोड ७० लाख ७१ हजार ८२१ रुपैयाँ बराबरको चामल, तेल र चिनि बिक्रि गरी सात हजार ९४२ क्वीन्टल चामल मौज्दात रहेको कार्यालयका लेखापाल ऐडीले बताउनुभयो । 

यसैबीच हुम्लाको यारी भन्सार कार्यालय चार महिना पछि सञ्चालनमा आएको छ । नारा लेकको हिउँ पन्छाइसकेपछि सो नाका सञ्चालनमा आएको भन्सार कार्यालय प्रमुख रामराज जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार गत आव २०८१/०८२ मा उक्त नाकाबाट १७ लाख ५४ हजार राजस्व सङ्कलन भएको थियो । उक्त नाका भएर  हुम्लाका युवायुवतीहरु चीनको ताक्लाकोट काम गर्न जानेको सङ्ख्या समेत बढेको कार्यालय प्रमुख जैसीले बताउनुभयो ।
Exit mobile version