भेरी अस्पतालमा तनाव, सेवा प्रभावित

भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा महिलाको मृत्युको घटनालाई लिएर मंगलबार पनि तनाव सिर्जना भएको छ । जसका कारण अस्पतालको सेवा समेत प्रभावित भएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पतालमै धम्की दिइएपछि प्रहरीले सुरक्षा घेरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट लगायतका चिकित्सकहरुलाई जिल्ला प्रशासन कार्यालय बाँकेमा लगेको थियो ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले काम गर्ने वातावरण नभएको, मनोबल घटेको बताएका छन् ।

उपचारका क्रममा एक जनाको मृत्य भएपछि भेरी अस्पताल नेपालगन्जमा सोमबार पनि दिनभरजसो तनावको अवस्था सिर्जना भएको थियो । बैजनाथ गाउँपालिका–६ की ६२ बर्षीया दिलसरा विश्वकर्माको उपचारका क्रममा आइतबार मृत्यु भएपछि आफन्तहरूले चिकित्सकको लापरवाही भएको भन्दै तनावको अवस्था सिर्जना गरेका हुन् ।

सोमबार समस्या समाधानका लागि संवाद पहलमा सहभागी प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार समेतलाई अभद्र व्यवहार गर्ने गरी विवाद बढ्दै गएपछि छलफलले खासै निष्कर्ष दिन नसकेको बैठकमा सहभागी बताउँछन् ।

‘पोष्टमार्टमपछि शव बुझ्ने र कानुनी उपचारमा जाने समझदारी बनेको हो’, बैठकमा सहभागी अस्पताल व्यवस्थापन समितिका एक जना सदस्यले दैनिक नेपालगन्जसँग भने । तर, पीडित परिवार चिकित्सक उपर किटानी जाहेरी मार्फत कानुनी कारवाही हुनुपर्ने माग राख्दै आएका छन् ।

चिकित्सकहरूले घटनाको प्रहरी अनुसन्धान भन्दा प्राविधिक अध्ययन अनुसन्धान आवश्यक भएको औंल्याउँछन् । उनीहरू भन्छन्, ‘मृत्युलाई डाक्टरले जित्न सक्दैन, भीड र बार्गेनिङ्गबाट समस्याको समाधान खोजियो भने यसले निम्त्याउने जोखिमबाट सिंगो स्वास्थ्य क्षेत्र प्रभावित हुन्छ ।’ ‘गलत नजिर नबस्ने गरी घटनाको अनुसन्धान गरेर निकास दिन सरोकारवालाहरूलाई हामी सबैको आव्हान हो’, चिकित्सकले भनेका छन् ।

Exit mobile version