मंगलबारदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । तर, नेपालगन्जका विद्यालयहरू आइतबार सञ्चालनमा ल्याउने नल्याउने अन्योल छ । शनिबार र आइतबार दुई दिन विद्यालय बन्द गर्दा बार्षिक पाठ्यक्रम नसकिने विद्यालय सञ्चालकहरू बताउँछन् । ‘सरकारको आइतबार पनि बिदा दिने निर्णयले शैक्षिक क्यालेण्डर गडबढी भएको छ, बार्षिक क्यालेण्डर बनाउन सकिएको छैन’, उनीहरू भन्छन्, ‘हाम्रो बुझाईमा यो अस्थायी निर्णय हो, थप निर्णय सरकारबाट आउछ भन्ने विश्वास छ, हामी सरकारको निर्णय कुरिरहेका छौं ।’
सरकारको निर्णयअनुसार यसबर्ष वैशाख १५ गतेदेखि विद्यालय तहको शैक्षिकसत्र सुरु गरिएको हो । विगतमा वैशाख २ गतेदेखि शैक्षिकसत्र सुरु हुँदै आएकामा सरकारले वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना लिने क्रम रोक्न र इन्धनको असहज आपूर्ति हुने स्थितिमा वैशाख १५ गतेदेखि विद्यालयमा भर्ना सुरु गर्ने निर्णय गरेको थियो । तर कतिपय स्थानीय तहको सहजीकरणमा वैशाख १५ गते अगावै विद्यार्थी भर्ना भइसकेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाले बैशाख ७ गतेदेखि विद्यार्थी भर्ना र बैशाख १५ गतेदेखि नियमित पठनपाठन गराउने निर्णय गरेको नगर शिक्षा अधिकृत गोर्ख बहादुर थापाले जानकारी दिएका छन् । सोही निर्णय अनुसार मंगलबारदेखि विद्यालय खुलेका थिए ।
हरेक बर्ष सामुदायिक विद्यालयमा बैशाख १ गतेबाट भर्ना अभियान सुरु हुन्थ्यो । यस बर्ष भर्ना अभियानको चहलपहल छैन । विद्यालय जाने उमेरका बालबालिका कोही पनि नछुटुन् भन्ने उद्देश्यले सञ्चालन हुने भर्ना अभियान बारे नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा अधिकृत गोर्ख बहादुर थापाले स्पष्ट जवाफ दिएनन् । उनले भर्ना गर्न भनेको प्रतिक्रिया मात्रै दिए । अघिल्लो बर्षहरू स्थानीय तहले भर्ना अभियान औपचारिक कार्यक्रम बीच सार्वजनिक गथ्र्यो भने वडा तहसम्मका जनप्रतिनिधि अभियानमा सहभागी हुने गर्दथे ।
आइतबार विद्यालय बिदा हुने नहुने विषयमा पनि नगर शिक्षा अधिकारीले स्पष्ट जवाफ नदिएर त्यसबारे छलफल नभएको बताए । यद्यपि उनले आइतबार बिदाका सम्बन्धमा केन्द्रको निर्णय पर्खिएको धारणा राखे ।
संस्थागत विद्यालयहरूको संगठन, प्याब्सन नेपालगन्ज नगर अध्यक्ष मान बहादुर थापाले पनि आइतबार विद्यालय सञ्चालन हुने नहुने स्पष्ट बताएनन् । उनले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहमा रहने आशय व्यक्त गर्दै उपमहानगरपालिकाको शिक्षा शाखासँग समन्वय गरेर अगाडि बढ्ने बताए ।
‘आइतबार बर्ष भरी बिदा हुने हो भने त्यसले शैक्षिक क्यालेण्डर प्रभावित पार्छ’, प्याब्सन नगर अध्यक्ष थापाले भने, ‘केन्द्रको निर्णय पर्खदैछौं, उपमहानगरपालिकासँग समन्वय गरेर निर्णय लिन्छौं ।’
विद्यालयको शैक्षिक कार्यक्रमहरू २ सय २० दिन हुनुपर्ने विद्यालय सञ्चालकहरू बताउँछन् । ‘त्यसैले कि त पाठ्यक्रम घटाउनु पर्छ, कि बिदा कटौती गर्नुपर्छ, त्यस बाहेक अर्को विकल्प छैन’, शिक्षाविद् बताउँछन् । बाँकेमा गर्मी, जाडो, बर्षाका बेलामा समेत स्थानीय बिदा हुने गरेको छ । त्यस बाहेक पर्वका बेला समेत स्थानीय बिदा दिने गरिएको छ । ‘त्यस्तो विदा मात्रै १० दिनसम्म हुने गरेको छ’, विद्यालय सञ्चालक भन्छन्, ‘आइतबार बिदा थपिंदा थप ५० दिन बढी विद्यालय बन्द हुन्छ, कक्षा समय विहान ९ देखि ५ गर्दा त्यो साना विद्यार्थीहरूलाई झन् पट्यारलाग्दो हुनसक्छ ।’
गोल्डेन एबिसी एकेडेमी बाँके हाईस्कुल नेपालगन्जका विद्यालयका प्रबन्ध निर्देशक विकास बहादुर सिंहले बिदाले पर्ने समस्या बारे सरकार पनि जानकारी रहेको विश्वास व्यक्त गरे । उनले इन्धन अभावका कारण सरकारले विद्यालय सञ्चालनको समय सारेको र आइतबार बिदा दिने निर्णय अस्थायी रूपमा गरेको बताए । ‘यस विषयमा अर्को निर्णय आउन सक्छ’, उनले भने, ‘त्यसैले हामी पर्ख र हेरको स्थितिमा छौं ।’ प्रबन्ध निर्देशक सिंहले आफ्नो विद्यालय आगामी जेठमा हुने गर्मी बिदासम्मका लागि शनिबार र आइतबार सञ्चालन गर्ने तयारीमा रहेको बताए । ‘यसबारे सरोकारवाला पक्षबीच छलफल भएपछि नयाँ ढंगले अगाडि पनि बढ्न सकिन्छ’, उनले भने ।
स्प्रिङडेल एकेडेमी नेपालगन्जका प्राचार्य शरदचन्द्र रावलले आइतबार बिदाका सम्बन्धमा शुक्रबारसम्म निर्णय लिइने बताए । ‘निजी विद्यालय संगठन, सरकार, स्थानीय तहले कस्तो निर्णय लिन्छ, त्यसै आधारमा अगाडि बढ्छौं’, उनले भने ।
बाँकेका अधिकांस संस्थागत विद्यालयले दशैं र तिहारको एकै पटक बिदा दिने गरेका छन् । बिदा कटौतिका लागि दशैं पछि विद्यालय खोल्ने र तिहारका बेला बिदा दिने निर्णय गरेपछि बाहिरबाट आएर अध्ययन गर्ने विद्यार्थी प्रभावित हुनेछन् । ‘बाहिरबाट यहाँ आएर अध्ययन गर्ने विद्यार्थी दशैंका बेला बिदा पाएर तिहार पछि फर्किने गरेका छन्, दशैं र तिहार बीच विद्यालय खोल्दा उनीहरू प्रभावित हुनेछन्’, एक विद्यालय सञ्चालकले भने, ‘बिदा कटौती गर्दा पनि विद्यालय र विद्यार्थीसँग पनि छलफल आवश्यक रहेको उल्लेख गर्दै भने ।’
