भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमणको प्रयास, धम्की र दुव्र्यवहारका घटना सार्वजनिक भएपछि स्वास्थ्य क्षेत्रको सुरक्षा र संरचनागत सुधारको बहस पुनः तातेको छ । यही सन्दर्भमा भेरी अस्पताल विकास समितिका अध्यक्ष रहिसकेका, पूर्व प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाईंले अस्पताललाई ‘अभंग क्षेत्र’ घोषणा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
मंगलवार सामाजिक सञ्जालमार्फत यसखालको धारणा सार्वजनिक गरेका डा. चापागाईंलाई दैनिक नेपालगन्जले राखेको चासोमा सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिएमा समाधान सम्भव भएको उल्लेख गरे । अस्पताल जस्तो संवेदनशील स्थलमा बेलाबेलामा पुनरावृत्ति हुने यस्ता घटनाले केवल स्वास्थ्यकर्मीको मनोबल मात्र नभई सम्पूर्ण स्वास्थ्य सेवा प्रणालीलाई कमजोर बनाउने ठम्याइ राख्दै डा. चापागाईंले भने, ‘यसको दीर्घकालीन समाधान खोजिनुपर्छ ।’
डा. चापागाइँका अनुसार, अस्पताल जीवन र मृत्युको संवेदनशील सिमानामा उभिएको स्थल भएकाले त्यहाँ हुने उपचार प्रक्रिया, निर्णय र चिकित्सकीय अभ्यास बाह्य दबाब र हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त हुनुपर्छ । उनले अस्पताललाई ‘अभंग क्षेत्र’ घोषणा गरिएमा चिकित्सकले स्वतन्त्र र निडर भएर काम गर्न सक्ने वातावरण बन्ने र त्यसको प्रत्यक्ष लाभ बिरामीलाई नै पुग्ने विश्वास व्यक्त गरेका छन् ।
उनले चिकित्सकलाई ‘गुड सामारिटन’ अर्थात मानवतावादी सहयोगकर्ता सरहको त्तगबषिष्भम क्ष्mmगलष्तथ दिनुपर्ने प्रस्ताव पनि अघि सारेका छन् । सडक दुर्घटनामा घाइतेलाई सहयोग गर्ने व्यक्तिलाई दिइने कानुनी सुरक्षाजस्तै स्वास्थ्य क्षेत्रमा पनि चिकित्सकलाई यस्तो संरक्षण आवश्यक रहेको उनको तर्क छ । उनले उपचारका क्रममा चिकित्सकले सद्भावनाका साथ काम गर्दा पनि अप्रत्याशित जटिलता आउन सक्ने र सबै प्रयास सफल नहुन सक्ने यथार्थलाई स्वीकार गर्नुपर्ने बताएका छन् ।
डा. चापागाईंले बदनियतपूर्ण लापरवाहीका घटनाका लागि विद्यमान कानुन पर्याप्त रहेको उल्लेख गर्दै समस्या त्यतिबेला उत्पन्न हुने बताएका छन् । जब चिकित्सकले आफ्नो सम्पूर्ण दक्षता र प्रयास प्रयोग गर्दा पनि परिणाम प्रतिकूल आउँछ, यस्तो अवस्थामा चिकित्सकमाथि आक्रमण, धम्की वा दबाब सिर्जना गर्नु पूर्णतः अस्वीकार्य भएको उनको भनाइ छ ।
सरकारले शासकीय सुधारलाई तीव्रता दिन अध्यादेश ल्याउने तयारी गरिरहेको बेला उनले यस्ता संरचनागत सुधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् । उनका अनुसार, स्वास्थ्य सेवा क्षेत्रमा विश्वासको वातावरण पुनःस्थापित गर्न कानुनी सुरक्षा, स्पष्ट नीतिगत व्यवस्था र अस्पतालभित्रको सुरक्षा सुदृढीकरण अनिवार्य भइसकेको छ ।
भेरी अस्पतालको पछिल्लो घटनाले नेपालमा स्वास्थ्य सेवा प्रणालीप्रति बढ्दो अविश्वास र तनावलाई उजागर गरेको विश्लेषण हुन थालेको छ । बिरामी पक्षको अपेक्षा, सीमित स्रोतसाधन, जटिल रोग र चिकित्सकीय अनिश्चितताबीचको असन्तुलनले कहिलेकाहीँ यस्ता द्वन्द्व निम्त्याउने गरेको देखिन्छ । यस्तो अवस्थामा समाधानका लागि केवल भावनात्मक प्रतिक्रिया होइन, दीर्घकालीन संरचनागत सुधार र आपसी विश्वास निर्माण अपरिहार्य देखिएको छ ।
यही बेला डा. चापागाईंको ‘अभंग क्षेत्र’ अवधारणाले बहसको नयाँ दिशा दिएको हो । यो प्रस्ताव व्यवहारिक हो वा अतिशयोक्ति भन्ने विषयमा मतभेद हुन सक्छ, तर अस्पतालभित्र सुरक्षा र सम्मान सुनिश्चित गर्नुपर्ने आवश्यकता भने निर्विवाद रूपमा अगाडि आएको छ । ‘अन्ततः स्वास्थ्य संस्था सुरक्षित भए मात्र सेवा सुरक्षित हुने यथार्थलाई यस घटनाले फेरि एकपटक स्मरण गराएको छ,’ स्वास्थ्यकर्मीको बुझाइ छ ।
