जेनजी सहिदको स्मृतिमा ‘योग भवन र उद्यान’ निर्माण

जेनजी प्रदर्शनका क्रममा गत भदौमा सहादत प्राप्त गरेका बाँकेका दुई जना युवाको स्मृतिमा नेपालगञ्जमा अर्धकदको सालिकसहित पार्क निर्माण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका-१ का आयुष थापा र सुलभराज श्रेष्ठको स्मृतिमा वडा कार्यालयले योग भवन तथा खुला व्यायामशाला निर्माण गरेको हो ।

लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उपमहानगरपालिका र वडा कार्यालयको सहयोगमा करिब रु ५० लाखको लागतमा योग भवन निर्माण गरिएको छ । साथै रु १० लाखको लागतमा खुला व्यायामशाला निर्माण गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिनुभयो । 

उहाँले देशको परिवर्तनका लागि सहादत प्राप्त गर्ने वडाका होनहार युवाको स्मृतिमा अर्धकदको सालिकसहित स्मृति भवन निर्माण गरेको बताउनुभयो । पहिलो चरणमा सिमेन्टको अर्धकदको सालिक निर्माण गरिएको जनाउँदै वडाध्यक्ष रिजालले आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी ढलोटको सालिक बनाउने योजना रहेको उल्लेख गर्नुभयो ।  

नेपालगञ्जका स्थायी बासिन्दा श्रेष्ठ र थापाको गत भदौ २३ गते राजधानीमा भएको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर निधन भएको थियो । वडा कार्यालयले यसअघि दुवै सहिदको स्मृतिमा ‘सहिद मार्ग’ नामाकरण गरिसकेको छ । सहिद स्मृतिमा अर्धकदको सालिकसहितको भवन उद्घाटनपछि खुला ब्याडमिन्टन प्रतियोगितासमेत सञ्चालन हुने वडाध्यक्ष रिजालले जानकारी दिनुभयो । 
Exit mobile version