नेपाल सरकार, परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखाको नेतृत्वमा सञ्चालन भइरहेको राष्ट्रिय पोषण स्क्रिनिङ कार्यक्रम बाँके जिल्लामा प्रभावकारी रूपमा सुरु गरिएको छ ।
६ देखि ५९ महिनासम्मका बालबालिका तथा पहिलो १,००० दिनभित्रका आमाहरूमा हुने कुपोषणको समयमै पहिचान गर्ने उद्देश्यले देशभर सञ्चालन गरिएको यो अभियान बाँकेमा “न्युट्रिसन फर लाइफ” परियोजना अन्तर्गत अघि बढाइएको हो । हेलन केलर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो ।
क्लब अध्यक्ष प्रवेज अली सिद्दीकीका अनुसार, यस अभियानअन्तर्गत बालबालिका र गर्भवती तथा सुत्केरी अवस्थाका आमाहरूको मिड–अपर आर्म सरकम्फरेन्स (ःग्ब्ऋ) मापन, उमेरअनुसार तौल, उचाइ तथा लम्बाइ परीक्षणमार्फत पोषण अवस्थाको मूल्यांकन गरिन्छ । स्क्रिनिङका क्रममा गम्भीर तथा मध्यम कुपोषण भएका बालबालिका र कम तौल भएका आमाहरूको पहिचान गरी आवश्यक उपचार, परामर्श तथा पोषण सहयोग प्रदान गर्ने व्यवस्था गरिएको छ ।
अभियानको पहिलो कार्यक्रम खजुरा गाउँपालिका वडा नं. २, गौघाटस्थित सीतापुर स्वास्थ्य चौकीबाट सुरु गरिएको हो । सो क्रममा पाँच वर्षमुनिका ६९ जना बालबालिकाको पोषण परीक्षण गर्दा ५ जना मध्यम कुपोषणका बालबालिका पहिचान भएका छन् । त्यस्तै, ७ जना गर्भवती महिलाको परीक्षण गर्दा २ जना कुपोषणको अवस्थामा रहेको पाइएको छ ।
कार्यक्रममा स्वास्थ्यकर्मी प्रेम चन्द र सीता थापाले सेवा प्रदान गरेका थिए भने महिला स्वास्थ्य स्वयंसेविका सुनिता राईको सक्रिय सहभागिता रहेको थियो । न्यूट्रिसन सहजकर्ता सुष्मा केसीले स्क्रिनिङ, परामर्श तथा रिफरल सेवामा सहजीकरण गरेकी थिइन् ।
यसैगरी राप्तीसोनारी गाउँपालिकाका वडा नं. २, ६, ७ र ९ मा पनि राष्ट्रिय पोषण स्क्रिनिङ अभियान सुरु गरिएको छ । स्थानीय स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहकार्यमा समुदायस्तरमै पोषण परीक्षण सेवा सञ्चालन भइरहेको छ ।
यो अभियानले बालबालिका तथा आमाहरूमा कुपोषणको शीघ्र पहिचान, समयमै उपचार तथा समुदायस्तरमा पोषण सुधारमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
