कोहलपुरमा तोरकीनको परिचर्चा

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा शुक्रबार क्षितिज समर्पणको उपन्यास ‘तोरकीन’को परिचर्चा गरिएको छ । उपन्यासमा हिमालपारिको अपर मुस्ताङको परिवेश र विषय समेटिएको छ । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजालले खासै चर्चामा नआउने मुस्ताङको मराङ गाउँको विगत र वर्तमानको कथालाई सूक्ष्म किसिमले केलाइएको उपन्यासका लेखकलाई हौसला दिन र उपन्यासका बारेमा यस क्षेत्रका पाठकको जिज्ञासा मेटाउन यस्तो कार्यक्रम राखिएको बताए ।

लेखक समर्पणले उपन्यासको लेखन आफ्नो त्यस क्षेत्रको यात्राबाट सुरु भएको बताए । पाठकहरूको जिज्ञासामा उनले उपन्यासमा आधुनिकताको कारण हिमाली क्षेत्रको बस्तीमा मानिसहरू पातलिँदै र हराउँदै जानु, पर्यावरणीय परिवर्तनले हिमाली सौन्दर्य हराउनु, संस्कृति र लोकरीति हराउन थाल्नुका कारण र असरलाई देखाउने प्रयास गरेको बताए । उनले भने ‘तोरकीनले जन्मभूमिको आत्मीयता र महत्तालाई देखाउन खोजेको छ । हिमाली सभ्यता, तिब्बत-नेपाल सम्बन्धलाई पनि उपन्यासले देखाएको छ ।’
कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, साहित्यकार खगेन्द्र गिरि कोपिला, सागर गैरे, कपिल अन्जान, विष्णु पादुका, डा.खोपीराम वली क्षेत्री, हुकुम धडकन, देवेन्द्र आचार्य, छविलाल खड्का, दीपिन सिँजापत्, महेन्द्र अतल, मणि गैरे, वीरङगना योगी, जनता रैका, चन्द्रावती अधिकारी, विमला खत्री, लक्ष्मण मानव, भीमबहादुर रोकाय, सञ्जय मण्डल, कृतनराज विष्ट लगायत बाँकेका स्रष्टाहरू र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो ।

संस्थाकी उपाध्यक्ष देवकी निरौलाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव केशव निमेषले गरेका थिए । सहभागीहरूले लम्बेतान आसन ग्रहण र भाषण नरहेको कार्यक्रम निकै रोचक र गुणात्मक भएको प्रतिक्रिया दिए ।

Exit mobile version