नेपालगञ्ज उपमहानगरपालिकामा आवास बीमा कार्यक्रम लागू भएपछि पहिलो बीमा दाबी भुक्तानी गरिएको छ ।
पहिलो लाभग्राहीका रुपमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का उत्तम सिंह पंजावीलाई नगर प्रमुख प्रशान्त विष्टले बीमा रकम हस्तान्तरण गर्नुभएको हो । २ लाख ३२ हजार ९ सयको चेक हस्तान्तरण गरिएको हो । त्यस अघि राष्ट्रिय बीमा कम्पनी नेपालगञ्ज शाखा प्रमुख नवीन पौडेलले नगर प्रमुख विष्टलाई चेक हस्तान्तरण गर्नुभएको थियो । गत भदौमा अविरल वर्षाका कारण पंजावीको घर भत्किएको थियो । बीमा रकम पाएपछि पंजावी परिवारले खुसी व्यक्त गरे ।
नगर प्रमुख विष्टले आवास बीमा कार्यक्रमलाई विपद् व्यवस्थापनको महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विपद् कहिले आउँछ भन्ने निश्चित हुँदैन, तर त्यसको असर कम गर्न हामीले पूर्व तयारी गर्न सक्छौं । आवास बीमा कार्यक्रमले विपद् प्रभावित परिवारलाई तत्काल राहत दिने काम गरेको छ । आगामी दिनमा यस कार्यक्रमलाई थप विस्तार गर्दै सबै जोखिमयुक्त घरधुरीलाई समेट्ने हाम्रो लक्ष्य छ ।”
विपद्जन्य घटनाबाट घरमा क्षती पुगेमा त्यसको क्षतिपूर्तिमा सहजताका लागि नेपालगञ्ज उपमहानगरपालिकाले वडा नम्बर ३ र ७ मा आवास बीमा कार्यक्रम लागू गरेको छ । राष्ट्रिय बीमा कम्पनीमार्फत हालसम्म १८४ परिवारको जोखिमयुक्त घरको बीमा गरिएको विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उपमहानगरपालिकाले प्रिमियम आफैं तिरिदिएर बीमामा प्रेरित गरेको छ । क्षती आंकलन गरी राष्ट्रिय बीमा कम्पनीबाट १५ लाखसम्मको बीमा कभर गरिन्छ । अहिले वडा नम्बर ८ र ११ मा पनि कार्यक्रम विस्तार गरिएको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । नेपालगञ्जले सुरु गरेको बीमा कार्यक्रम नरैनापुर, कोहलपुर र खजुरा गाउँपालिकाले पनि यसै आर्थिक बर्षबाट कार्यान्वयन गर्ने बताइएको छ ।
विपद पूर्व तयारी र व्यवस्थापनमा सुपर कार्यक्रमले प्राविधिक सहकार्य गरिरहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपाल र रेडक्रसको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सुपर कार्यक्रमले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ । सुपर कार्यक्रमले आवश्यक पृष्ठपोषण र प्राविधिक सहयोगसँगै समन्वय, सहकार्य र सहजीकरणमा टेवा पुगिरहेको छ ।
