काेहलपुर गाेल्डकप : आयाेजक रेसिङ साहारा फाईनलमा प्रवेश

बाँकेको कोहलपुरमा जारी चौथो संस्करणको कोहलपुर गोल्डकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा आयोजक रेसिङ साहारा क्लब विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। लालीगुराँस एसोसिएसन क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै रेसिङ साहाराले उपाधि नजिकको यात्रा तय गरेको हो।

रेसिङ साहाराका लागि खेलको १७औँ मिनेटमा जर्सी नम्बर १४ का निराजन खत्रीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ३९औँ मिनेटमा जर्सी नम्बर १२ का ओम प्रकाश चौधरीले दोस्रो गोल थप्दै टोलीको स्कोर दोब्बर बनाए।

दोस्रो हाफ निकै प्रतिस्पर्धात्मक बनेको थियो। लालीगुराँस एसोसिएसन क्लबका जर्सी नम्बर १८ का रोशन छन्त्यालले ७८औँ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसले नतिजा बदल्न सकेन।

खेलको ‘म्यान अफ द म्याच’ रेसिङ साहाराका ओम प्रकाश चौधरी घोषित भए। उनले नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।

कोहलपुर-२ स्थित तेह्र बिघा खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत दोस्रो सेमिफाइनल खेल भोलि बेलुका ४:३० बजे हुने आयोजकले जनाएको छ। उक्त खेलमा जस्ट जोन एफसी (नाइजेरिया) र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले चार लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

Exit mobile version