हुलाक सेवामार्फत सरकारी कागजात घरदैलोमै पु¥याउने अभियान बाँकेमा पनि विस्तार भएको छ । सरकारको सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउने उद्देश्यअनुसार बाँकेसँगै हालसम्म देशका १९ जिल्लामा यो सेवा सञ्चालनमा आइसकेको हो ।
‘अहिलेलाई राहदानी सेवालाई सञ्चालनमा ल्याएका छौं,’ जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गजेन्द्र प्रकाश थारुले दैनिक नेपालगन्जसँग भने, ‘तपाईले चाहनुभयो भने राहदानी घरनै पुर्याइदिने गरि जिल्ला प्रशासन कार्यालय बाँकेसँग आवश्यक समन्वय गरिएको छ ।’ त्यसका लागि राहदानी प्रक्रियामा घरमै पु्रयाउनु पर्ने वा आफै लिन आउने भन्ने रोजाई भने तपाईकै हुनेछ ।
अन्य जिल्लामा सेवाग्राहीसँगै हुलाक शुल्क लिइने गरेपनि बाँकेमा भने जिल्ला प्रशासन कार्यालयनै त्यसको दायित्व लिंदा निःशुल्क घरमै सेवा पुगेको जिल्ला हुलाक प्रमुख थारुले बताए । ‘तौलका आधारमा हुलाक शुल्क लिने व्यवस्था छ,’ अन्य जिल्लामा लाइसेन्स पनि पु¥याइने गरिएको जानकारी दिंदै उनले भने,
‘बाँकेका लागि प्राप्त लाइसेन्स यातायात व्यवस्था कार्यालयमा एकमुष्ट दिइने गरिएको छ ।’ जिल्ला हुलाक कार्यालयले नेपालगन्ज काठमाडौं द्रुत सेवा पनि प्रभावकारी ढंगले सञ्चालनमा आइरहेको जनाएको छ ।
सरकारले गत चैत १३ गते स्वीकृत शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो । सोही लक्ष्यअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय गरेर कार्यप्रगतिमा निगरानी पनि गरिरहेको जनाएको छ । यस कार्यमा सञ्चार मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र मातहतका निकायहरूको सक्रिय भूमिका रहेको छ ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीका अनुसार, सेवा सुरु भएयता हालसम्म ३,१३१ वटा राहदानी सम्बन्धित जिल्लामा ढुवानी गरिएको छ । तीमध्ये ६६७ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेका छन् । यस सेवाले नागरिकलाई राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्न सहयोग पु¥याएको छ ।
हाल काठमाडौँ, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, कालीकोट, मकवानपुर, बझाङ, कास्की, मोरङ, धनकुटा र बैतडीसहित १९ जिल्लामा सेवा विस्तारका लागि सम्झौता भइसकेको छ भने अन्य जिल्लामा पनि विस्तारको प्रक्रिया जारी रहेको विभागले जनाएको छ । अहिले सबै जिल्ला प्रशासन कार्यालयहरूले राहदानी आवेदनकै क्रममा सेवाग्राहीको ठेगाना संकलन गर्न थालेका छन् ।
राहदानीसँगै अन्य सरकारी कागजातहरू पनि घरमै पु¥याउन थालिएको छ । हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र वितरण गरिएको छ । त्यस्तै, यातायात सेवाअन्तर्गत २ लाख ९६ हजार ५४५ वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित कार्यालयहरूमा पठाइएको छ । मोरङ र कास्की जिल्लामा लाइसेन्स घरमै पु¥याउने सेवा समेत सुरु भइसकेको छ ।
स्वास्थ्य क्षेत्रतर्फ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा १४ वटा प्रयोगशालाका नमुनाहरू ढुवानी गरिएको छ । सुर्खेत, बाँके र काठमाडौँबाट सुरु गरिएको यो सेवा क्रमशः अन्य क्षेत्रमा विस्तार गर्ने योजना छ ।
सेवा विस्तारसँगै नेपाल टेलिकम सँगको सहकार्यमा सिमकार्ड वितरण तथा मध्यपश्चिम विश्वविद्यालय सँग शैक्षिक सामग्री ढुवानीको कामसमेत अघि बढाइएको विभागले जनाएको छ ।
सरकारले यो सेवामार्फत सार्वजनिक सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो र नागरिकमैत्री बनाउँदै देशभर विस्तार गर्ने लक्ष्य राखेको छ ।




























