बर्दियाको बढैयाताल गाउँपालिकामा किसानहरूको जीवनस्तर उकास्ने उद्देश्यका साथ ‘फोर बेटर्स मोडेल भिलेज’ शुभारम्भ गरिएको छ ।
एफएओको सहयोगमा बर्दिया बढैयातालका किसानको उत्पादन वृद्धि गरी उनीहरूको आय स्तरसँगै जीवन स्तर उकास्ने परियोजनाको लक्ष्य रहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री दिनेश पन्थीले किसानलाई सहकारीसँग जोडेर उत्पादन सँगै बजारीकरणमा पनि जोड दिइएको बताए ।
एफएओका नेपाल–भूटान प्रतिनिधि केन सिमिजुले परियोजनाको उद्देश्यबारे प्रकाश पार्दै कार्यान्वयन प्रक्रियामा देखिएका सकारात्मक उपब्धीले उत्साहित बनाएको धारणा राखे ।
सरोकारवालाहरूको उल्लेख्य सहभागितामा आयोजित कार्यक्रममा नेपाल कृषि सहकारी महासंघका अध्यक्ष एकराज उप्रेतिले उत्पादनदेखि बजारिकरणसम्मको योजनामा अगाडि बढेको परियोजनाले किसानहरूको जीवनमा उल्लेख्य सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको बताए ।
मोडेल भिलेजका रूपमा स्थापित टेसनपुर नमूना कृषक समूहका अध्यक्ष देवीघर्ती मगरले फोर बेटर्स मोडेल भिलेज स्थापनापछि विशेषगरी महिलाहरूले उत्पादनसँग जोडिएर आयआर्जन गर्ने अवसर प्राप्त भएको अनुभव सुनाइन् ।
कार्यक्रममा बढैयागाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारी, किसान सम्झना थारु, मधु थारु, व्यवसायी माया पोखरेल, सरकारी प्रतिनिधि कमला अधिकारी बीच सशक्त महिला ः समावेशी कृषि विषयक नीति सम्वाद पनि आयोजना गरिएको थियो । नीति संवादको सहजीकरण जेसी विशेषज्ञ भवानी थपलियाले गरेकी थिइन् ।
त्यस्तै, ग्रामीण कृषिको अवस्थाबारे विषयविज्ञ मधु विश्वकर्माले आफ्नो प्रस्तुतिकरण गरेका थिए ।
