बाँकेको नरैनापुरमा बन्द भएको छोटी भन्सार पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको छ । राजपत्रमा प्रकाशित भन्सार ऐन २०८३ मा नरैनापुरलाई छोटी भन्सारका रूपमा उल्लेख गरिएको छ । यससँगै सरकारले छोटी भन्सार सञ्चालनमा ल्याउन लागेको चर्चा सुरु भएको छ । राजपत्रमा छोटी भन्सारका रूपमा देशका विभिन्न जिल्लाका १६ वटा स्थान उल्लेख गरिएको छ ।
द्वन्द्वकालमा बन्द भएका बाँकेका सात वटा छोटी भन्सार अहिलेसम्म पनि पुनःस्थापना हुन सकेका छैनन् । भन्सार कडाई भएपछि छोटी भन्सारको आवश्यकता पुनः औंल्याउन थालिएको छ ।
६५ किलोमिटर खुला सीमा भएको बाँकेमा भारतबाट मालसामान ल्याउन चाहेमा मुख्य नाका नै धाउनु पर्ने अवस्था छ । जसले गर्दा नाकाबाट टाढा रहेका आम नागरिकलाई समस्या हुने नरैनापुर गाउँपालिकाका स्थानीय बताउँछन् ।
छोटी भन्सार सञ्चालनमा नआउँदा छोटी भन्सारबाट उठ्ने भन्सार राजस्वसमेत ठप्प भएको छ । सुइया बघौडा, नरैनापुर, भगवानपुर, खडैचा, भघोटना, साईगाउँ र उढरापुर छोटी भन्सार बन्द भएको बर्षौ भएपनि सरकारले सञ्चालनमा ल्याउने तर्फ चासो देखाएको थिएन ।
छोटी भन्सार सञ्चालनमा आउन भारतले पनि आफ्नो तर्फ भन्सार सञ्चालनमा ल्याउनुपर्ने भएकाले केन्द्रबाट नै पहल हुनुपर्ने भन्सार अधिकारीहरूले बताउँदै आएका छन् । छोटी भन्सार सञ्चालनमा रहँदा स–सानो परिणाममा धेरै मालसामान आउने गरेका थिए ।
‘छोटी भन्सार सञ्चालनमा ल्याउन भारत सँग समन्वयसँगै कुन मोडालिटिमा सञ्चालनमा गर्ने भन्ने स्पष्ट भई जनशक्ति र पूर्वाधारको व्यवस्थापनको चुनौति छ’, भन्सार सम्बद्ध अधिकारीहरू बताउँछन् ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले नरैनापुरमा छोटी भन्सार सञ्चालनका विषयमा विभागबाट निर्देशन आएपछि उक्त कार्य अगाडि बढ्ने बताउँछन् । ‘बाँकेमा कुनै बेला सात वटा छोटी भन्सार थिए’, उनले भने, ‘नरैनापुरमा छोटी भन्सार सञ्चालनको विषय विभागको पत्र पछि स्पष्ट हुन्छ ।’ उनले छोटी भन्सार सञ्चालनमा आउँदा कति मूल्यसम्मका कस्ता मालवस्तु ल्याउन दिने, जनशक्ति लगायतका विषय विभागको निर्देशन पछि स्पष्ट भई सोही अनुसार अघि बढ्ने बताए ।
छोटी भन्सार नहुँदा नेपाल–भारत सीमाको बाँके खण्डमा तस्करी बढिरहेको गुनासो यसअघि व्यवसायीहरूले पनि गर्दै आएका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघले छोटी भन्सार सञ्चालनको विषय पटकपटक उठाउँदै आएको छ ।





























