द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय पुनःसञ्चानलमा आउने भएको छ । भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नेपालगञ्ज भन्सारअन्तर्गत रहेर नरैनापुर छोटी भन्सार सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधार निर्माण र कर्मचारी व्यवस्थानको काम भइरहेको बताउनुभयो ।
“यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै प्रयोगमा आउने हो”, उहाँले भन्नुभयो । भन्सार नियमावली, २०८३ मा बाँकेको नरैनापुरस्थित छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी तथा व्यापारी खुसी देखिएका छन् ।
सात वटा छोटी भन्सार रहेको बाँकेमा अन्य कार्यालय बन्द भए पनि नरैनापुरको छोटी भन्सार पुनःसञ्चालनका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगञ्जका प्रमुख जर्नादन पौडेलले जानकारी दिनुभयो । “यहाँ रहेका सात वटा छोटी भन्सारमध्ये नरैनापुरको मात्रै अहिले सञ्चालनमा आउनेगरी तयारी भएको छ”, उहाँले भन्नुभयो । अवैध समान ओसारपसारका लागि यो भन्सारको दुरुपयोग हुनसक्ने जोखिम भने रहेको उल्लेख गर्दै उहाँले भन्सार जाँचलाई कडाइ गरिने बताउनुभयो । नरैनापुरबाट आलु, प्याज र केही पशु आउन सक्ने उहाँको भनाइ छ ।
उद्योग वाणिज्य सङ्घ नेपालगञ्जका वरिष्ठ उपाध्यक्ष चीरञ्जीवी ओलीले छोटी भन्सार पुनः सञ्चालनमा आउनु स्थानीय व्यवसायीका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो । मुख्य भन्सारबाट आउने सामान छोटी भन्सारबाट नआउने तर्क गर्दै उहाँले राजस्व सङ्कलन बढ्नुका साथै तस्करी नियन्त्रणमा सघाउ पुग्ने उल्लेख गर्नुभयो ।
सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नरैनापुर छोटी भन्सार अहिलेको अवस्थामा स्थापना भए डिजिटल प्रणालीमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै त्यसले जमुहनाह नाकामा हुने घुइँचो घटने विश्वास व्यक्त गर्नुभयो । उहाँले छोटी भन्सारबाट राज्यले नाफा लिन सक्ने अवस्था हुनुपर्ने उल्लेख गर्दै नरैनापुर छेटी भन्सार पारदर्शी रूपमा सञ्चालनमा आउनुपर्नेमा जोड दिनुभयो ।
“चोरी, निकासी बन्द हुनुपर्छ र आसपासका स्थानीयले यसको फाइदा लिनुपर्छ । यसले गर्दा राज्यलाई राजश्व सङ्कलनमा पनि थप टेवा पुग्ने छ”, श्रेष्ठले भन्नुभयो । सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले नेपालगञ्जका व्यवसायीका लागि यो सकारात्मक अवसर भएको उल्लेख गर्दै अवैध व्यापार निरुत्साहित हुने धारणा राख्नुभयो ।
