मर्यादित काम र समावेशी विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहेकामा सरोकारवालाले जोड दिएका छन् । सरकार, रोजगारदाता, जेटीयुसिसी र आइएलओद्वारा संयुक्त रुपमा ललितपुरमा आयोजित त्रिपक्षीय बैठकमा सरोकारवालाहरुले सो धारणा राखेका हुन् ।
बैठकले सन् २०२३–२०२७ को मर्यादित काम सम्बन्धी राष्ट्रिय कार्यक्रम’को प्रगति समीक्षा गर्दै आगामी रणनीतिका बारेमासमेत छलफल गरेको थियो । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेले मर्यादित काम, सामाजिक न्याय र समावेशी आर्थिक विकासका लागि त्रिपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
आइएलओ नेपालका देशीय निर्देशक नुमान ओजकानले सहकार्यबाटै श्रमका मुद्दाहरु सम्बोधन गर्न सकिने धरणा राख्दै यस क्षेत्रमा काम गर्दा सही तथ्याङ्कमा जोड दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति प्रवलजङ्ग पाण्डेले मुलुकको आर्थिक विकास र उत्पादनशीलता वृद्धिका लागि सरकार, रोजगारदाता तथा श्रमिकबीच सुमधुर सम्बन्ध अपरिहार्य रहेको बताउनुभयो । श्रमिक कल्याण र महिला सशक्तीकरणमा विशेष पहल अन्तरराष्ट्रिय श्रम सङ्गठनसँगको साझेदारीमा महासङ्घले गरिरहेका कार्यबारे प्रकाश पार्दै उहाँले चिया र अलैँची क्षेत्रमा व्यावसायिक सुरक्षा तथा स्वास्थ्य निर्देशिका कार्यान्वयनमा ल्याइएको बताउनुभयो । सभापति पाण्डेले महिला उद्यमीलाई सहयोग गर्न महिला उद्यमशीलता सहायता कक्ष सञ्चालन गरिएको र कर्णाली तथा सुदूरपश्चिमका विभिन्न स्थानमा बहुउद्देशीय स्याहार केन्द्रबारे जानकारी गराउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार र आइएलोसँगको सहकार्यमा मर्यादित काम तथा समावेशी विकासका क्षेत्रमा काम गरिरहको छ । यसले महिला र युवाजस्ता लक्षित समूहलाई अर्थतन्त्रको मूलधारमा ल्याउने लक्ष्य राखेको छ ।