बिरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक स्रोत जुटाउन वैज्ञानिक महावीर पुन बाँके आइपुगेका छन् । देशव्यापी अभियान अन्तर्गत नेपालगन्ज आइपुगेका महावीर अहिले आफ्नै जीवन गाथा समेटिएको पुस्तक बिक्री गर्दै कारखानाका लागि आर्थिक संकलन गरिरहेका हुन् ।
नेपालगन्जमा महावीरको पुस्तक बिक्रीका लागि सुरेन्द्रदिप कार्की र हेमन्तराज काफ्लेले सहजीकरण गरिरहेका छन् । नेपालगन्जमा उनको ६ सय ३० थान पुस्तक बिक्री भैसकेको छ । बुधबार साँझ महावीरलाई स्थानीय कोल्टे भान्सा घरले स्वागत तथा भेटघाट गर्यो । त्यसक्रममा ७५ थान पुस्तक बिक्री भएको कोल्टे सञ्चालक श्रीराम सिग्देलले जानकारी दिए ।
वैज्ञानिक महावीरले पुस्तक बिक्रीको आम्दानी कारखाना सञ्चालनका लागि खर्च हुने उल्लेख गर्दै उक्त पुस्तक अध्ययनबाट युवाहरूमा स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना विकास भए आफ्नो उद्देश्य सफल हुने बताए ।
