• औषधि व्यवस्था विभाग नेपालगन्जबाट २५ वटा जिल्लामा अनुगमनका लागि दुईजना मात्रै औषधि निरीक्षक फिल्डमा खटिने गरेका छन् । चारजना निरीक्षक रहे पनि दुईजना कार्यालयको काममै रहने र दुईजना निरीक्षक अनुगमनका लागि फिल्डमा खटिने गरेको कार्यालय प्रमुख निनु श्रेष्ठले जानकारी दिइन् ।
• बाँकेको डुडुवा गाउँपालिका-६ स्थित जयेन्दु बालसुधार गृहलाई विद्यालयको अनुमति दिन उच्च अदालतबाट परमादेश जारी भएको छ । अधिवक्ता वसन्त गौतमसहितका कानुन व्यवसायीले जयेन्दु बालसुधार गृहमा कम्तीमा पनि ८ कक्षासम्म विद्यालयको अनुमति पाउनुपर्ने दाबी गर्दै दायर गरेको रिटमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अनुमति दिन बुधबार परमादेश जारी गरेको हो ।
• खजुरा गाउँपालिका वडा नम्बर २ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । परस्पुर-गौघाट सडकखण्ड वर्षौदेखि अलपत्र परेको र स्थानीय सरकारले यसलाई सम्पन्न गर्न कुनै चासो नदिएको भन्दै स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गरेको हो । साथै उनीहरूले उक्रत खण्ड अवरूद्ध पनि गरेका थिए ।
• नेपालगन्जका विभिन्न होटेलमा बाँके प्रहरीले बरामद गरेको डेढ करोड रुपैयाँको अनुसन्धान राजस्व कार्यालयले सुरु गरेको छ । स्रोत नखुलेको उक्त रकम प्रहरीले फागुन २७ र २८ गते नेपालगन्जका विभिन्न ठाउँबाट बरामद गरेको थियो । यसमा संलग्न आठजनासमेत पक्राउ परेका छन् ।
• नेपालगन्जको ऐतिहासिक पर्यटकीयस्थल रानीतलाउ उद्यानमा थप पूर्वाधार निर्माण गर्नुका साथै सेवा सुविधा विस्तार गरेर स्तरोन्नति गर्ने कार्य सुरु भएको छ । यसका लागि लुम्बिनी प्रदेश सरकार पर्यटन डिभिजन कार्यालय बाँकेले ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।
• ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ नेपालगन्जमा विभिन्न कार्यक्रम गरेर विश्व मिर्गौला दिवस बिहीबार मनाइएको छ ।
• र, मोहन वैद्य निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेको अध्यक्षमा तपेन्द्र न्यौपाने चयन भएका छन् ।































