यस वर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका साझा चुनौतीलाई सम्बोधन गर्न थप ऐक्यबद्धता र सहकार्यका लागि चीनले आह्वान गरेको छ । चीनको अगुवाईमा सम्पन्न यस सम्मेलनमा चीनले थप खुलापन र साझा विकासका आकाङ्क्षा परिपूर्तिका लागि प्रतिबद्धता समेत व्यक्त गरेको छ । चीनले पछिल्ला वर्षहरुमा उच्च—गुणस्तरयुक्त विकास समेतका सबै मोर्चामा तिब्र विकास गरिरहेको जनाउँदै यसबाट विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने तथा सबै देशको समतामुलक विकासका लागि बढीभन्दा बढी अवसर सिर्जना हुने अपेक्षा पनि गरेको छ । वार्षिक सम्मेलनको उद्घाटनका अवसरमा सम्बोधन गर्दै चीनका वरिष्ट सांसद झाओ लेजीले समतामुलक यस विकास प्रयासबाट एसियाली छिमेकी मुलुकहरु अझ बढी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । साझा विकास प्रतिबद्धता हाल विश्वले नै कमजोर आर्थिक पुनरुत्थान र क्षेत्रीय द्वन्द्व समेतका गम्भीर चुनौती सामना गरिरहेको छ । यी विषयलाई सम्बोधन गर्न र आफू अनुकूलका परिणामहरु हासिल गर्न देशहरुबीच ऐक्यबद्धता र सहयोग अत्यावश्यक भइसकेको छ । नेसनल पिपल्स कङ्ग्रेस स्थायी समितिका अध्यक्ष झाओले एसियाली मुलुकहरुलाई तटस्थ रहन, एकता मार्फत शक्ति सञ्चय गर्न, एकात्मकतालाई अस्वीकार गर्न तथा कुनै एक पक्षमा आबद्ध नहुन तथा एसियालाई भूराजनीतिक प्रतिस्पर्धाको क्षेत्र हुनबाट रोक्न आह्वान गर्नुभयो । झाओले भन्नुभयो, चीनले समान र नियमबद्ध बहुध्रुवीय विश्वको पक्षमा वकालत गर्दछ । साथै उहाँले विश्वले समान रुपमा लाभ प्राप्त गर्ने तथा समतामुलक आर्थिक वैश्वीकरणको पक्षपोषण गर्ने बताउँदै ध्रुवीय विवादको पश्चगामी मानसिकताबाट माथि उठ्न र सही अर्थको बहुपक्षीयता अभ्यास गर्न तथा खुला विश्व अर्थतन्त्रका लागि मिलेर अघि बढ्न सबै मुलुकसँग आग्रह गर्नुभयो । चीन साझा विकास लक्षप्रति प्रतिबद्ध रहेको बताउँदै झाओले भन्नुभयो, “चीन अहिले विश्वका १४० भन्दा बढी देशसँग मुख्य व्यापारिक साझेदार रहेको छ । साथै, धेरै मुलुकमा लगानीको मुख्य स्रोतका रुपमा चीन रहेको छ र विश्वका अधिकांश मुलुकका लागि महत्वपूर्ण लगानी गन्तव्यका रुपमा स्थापित छ ।” मानवताको साझा भविष्य निर्माण गर्नेतर्फ प्रस्ताव गरिरहेको चर्चा गर्दा झाओले अगाडि भन्नुभयो, “विश्वका सबैजसो मुलुकमा राम्रो भविष्यका लागि चिनियाँ शैलीको समाधान अगाडि बढाइएको छ ।” वर्षौंदेखि चीनले अघि बढाएका बेल्ट एन्ड रोड कार्यक्रम (बिआरआई), ग्लोबल डेभलपमेन्ट कार्यक्रम (जिडिआई), ग्लोबल सेक्युरिटी कार्यक्रम (जिएसआई) र ग्लोबल सिभिलाइजेसन कार्यक्रम (जिसिआई) ले समृद्धि र स्थायित्वमा महत्वपूर्ण योगदान गरिरहेको छ । विश्व प्रसिद्ध औषधि उत्पादक कम्पनी अस्ट्राजेनिकाका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरिओटले सिन्ह्वासँग कुरा गर्दै अर्थतन्त्रलाई बढावा दिन, नवप्रवर्तन प्रविधिलाई अगाडि लैजान तथा अर्थतन्त्रको खुलापनका लागि गरिएका प्रयासमा चीन सरकारको प्रस्ट योजनाबाट आफू निकै प्रभावित बनेको बताउनुभयो । खुलापनका लागि प्रतिबद्धता चीनले विकास पथमा विश्वलाई नै डो—याउन प्रतिबद्धता व्यक्त गरेको छ । झाओले आफ्नो सम्बोधनमा विश्वकै लागि चीनले आफ्नो ढोका खुला राखेको छ भन्नुभयो । उहाँले भन्नुभयो, “चीनले उच्चस्तरको अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमहरुलाई आत्मसात गरेको छ र व्यवसाय—मैत्री वातावरण निर्माण गरिएको छ जुन बजारमुखी, कानुन आधारित र विश्वस्तरीय छ ।” चीनले विदेशी लगानीलाई सहज तुल्याउन नकारात्मक सूचीलाई थप साँघुरो बनाएको छ भने उत्पादन क्षेत्रको पहुँचमा रहेका सबैजसो अवरोधलाई हटाई सकेको छ, झाओले भन्नुभयो । केही वर्षदेखि चीनले खुलापनलाई निरन्तर अघि बढाउँदैछ । यसका लागि चीनले खुला व्यापार क्षेत्रहरु स्थापना गरेको छ भने विदेशी लगानीका लागि कतिपय क्षेत्रहरुको विस्तार गरेको छ । बहुपक्षीयतामा चीनको पूर्ण समर्थन छ, झाओले अगाडि थप्नुभयो । उहाँले एसियाली मुलुकहरुले व्यापारिक संरक्षणवादको खुलेर विरोध गर्न तथा सबै प्रकारका अबरोधहरु हटाउनेतर्फ सामूहिक आवाज उठाउन आह्वान पनि गर्नुभयो । चीनको आर्थिक दृष्टिकोण सम्बन्धमा भएको छलफलमा बीएफए सल्लाहकार परिषद्का सदस्य एवं फ्रान्सका पूर्व प्रधानमन्त्री जीन पियरे राफेरिनले एकात्मक ढाँचाको नीतिले अर्थतन्त्रको बृद्धिमा सहयोग नगर्ने बताउँदै गत वर्ष ५ प्रतिशतभन्दा बढी देखिएको खुला चिनियाँ अर्थतन्त्र विश्वकै लागि सुखद समाचार हो भन्नुभयो । “तपाइँसँग धेरै युवा जनशक्ति छ, राम्रा विश्वविद्यालय छन्, सुविधासम्पन्न अनुसन्धान केन्द्रहरू छन्, र धेरै मानिसले काम पाइरहेका छन्,” राफेरिनले भन्नुभयो । उहाँले चीनको नवप्रवर्तन अभियान विश्वकै लागि महत्वपूर्ण योगदान रहेको बताउनुभयो । पछिल्ला वर्षहरूमा, भूमण्डलीकरण र व्यापार बहुपक्षवादले केही देशहरूमा व्याप्त सुस्त अर्थतन्त्र र घरेलु राजनीतिको प्रभावका कारण केही अबरोध देखा परेको छ, जसको फलस्वरुप व्यापार संरक्षणवादलाई जन्म दिएको छ । “यदि सबै मानिसले बन्द कोठाभित्र बसेर बजारको खोजी गर्छन् भने त्यसबाट हामी समृद्धि र विकासको चाहना पूरा गर्न सक्दैनौं, र अवश्य पछि पर्नेछौं,” चाइना एन्ड ग्लोबलाइजेसन सेन्टरका अध्यक्ष वाङ हुइयाओले भन्नुभयो । चीनमा अवसरहरू विगत दशकहरूमा, चीनको बलियो आर्थिक वृद्धि र विशाल बजार संरचनाले विश्वका लागि महत्वपूर्ण अवसर प्रदान गरेको थियो । विश्वव्यापी आर्थिक वृद्धिमा चीनले सबैभन्दा ठूलो योगदान गरेको थियो । झाओले १ अर्ब ४० करोड हाराहारीको जनसंख्या भएको चीनको विशाल बजारको सम्भावनालाई दृष्टिगत गरी लगानी बढाउनु भविष्यकै लागि लगानी गर्नु सरह रहेको पनि बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, चीनको हरित विकासले वार्षिक रुपमा १० ट्रिलियन युआनको लगानी र उपभोग बजार सिर्जना गर्न तयार रहेको बताउनुभयो । चीनको विकासको “एक्सप्रेस ट्रेन” मा सवारी हुन र शान्तिपूर्ण विकास, पारस्परिक लाभकारी सहयोग र सबैका लागि समृद्धि सहितको विश्वव्यापी आधुनिकीकरणको लागि काम गर्न सबै देशहरूलाई हार्दिक स्वागत छ, झाओले भन्नुभयो । “चिनियाँ बजार हाम्रो लागि महत्वपूर्ण छ” अमेरिकी परामर्श साझेदारमा आबद्ध चाल्र्स डल्लाराले भन्नुभयो । “हामी हाम्रो लगानीको सफलताबाट धेरै खुसी छौं ।” उहाँले अगाडि भन्नुभयो, चीनसँग उन्नत प्रविधि र हरित ऊर्जा छ र यसले घरेलु र विश्वभरि वातावरणीय समस्यालाई कम गर्न योगदान पुर्याइरहेको छ । “मलाई लाग्छ चीन हामीलाई अझ वातावरणीय रूपमा सुरक्षित संसारमा ल्याउन विश्वव्यापी नेता बन्न तयार छ । हामीलाई चीन र एसियाको बाँकी भागमा हाम्रो समूहको भविष्यमा विश्वास छ । यो एक गतिशील क्षेत्र हो । चीनसँग ठूलो मात्रामा श्रमशक्ति मात्र होइन, दक्ष जनशक्ति पनि छ । तपाइँले इन्जिनियर र वैज्ञानिकहरूको राम्रो नेतृत्व पाउनु हुनेछ । प्राविधिक विकासको अग्रपंक्तिमा, र हामी चीनमा लगानी जारी राख्ने सम्भावनाहरूको बारेमा धेरै उत्साहित छौं ।” अष्ट्रेलियामा मुख्यालय रहेको फोर्टेस्क मेटल्स समूहका प्रमुख कार्यकारी अधिकृत डिनो ओट्रान्टोले सिन्ह्वासँग कुरा गर्दै फोट्र्सक्कले बोआओसँग फोरमसँग १८ वर्षदेखि दीर्घकालीन साझेदारी कायम राखेको बताउँदै विगत २० वर्षमा कम्पनीले फलामको व्यापार गरिरहेको र त्यसमध्ये ९० प्रतिशत उत्पादन चिनियाँ बजारमा जाने गरेको छ भन्नुभयो ।
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
- Dainik Nepalgunj

- Categories: World
Related Content
सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबंदी जारी रहन्छ : ट्रम्प
by
Dainik Nepalgunj
April 18, 2026
स्कुलमै रक्तपात, ९ को मृत्युले टर्की स्तब्ध
by
Dainik Nepalgunj
April 16, 2026
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु
by
Dainik Nepalgunj
February 17, 2026
ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना
by
Dainik Nepalgunj
February 15, 2026
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा
by
Dainik Nepalgunj
January 21, 2026