इजरायल र हमासबीच विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यले इजिप्टको कायरोमा आइतबार वार्ता सुरु हुँदैछ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक सङ्केत गरेसँगै वार्ताको वातावरण बनेको इजिप्टको एक सञ्चारमाध्यम अल–काहेराले जनाएको छ । उक्त अखबारले इजिप्टको सुरक्षा स्रोतलाई उद्धृत गर्दै इजिप्टको राजधानी कायरोमा सोमबार वार्ता हुन लागेको बताएको छ । इजिप्ट, कतार र इजरायलको मुख्य सहयोगी संयुक्तराज्य अमेरिकाले यसअघिका बैठकको पनि मध्यस्थता गरेका थिए तर ती वार्तामा खासै प्रगति हुन सकेको थिएन । यसअघिका वार्तामा रमादान अघि नै युद्धविराम गर्ने प्रयास गरिएका थिए तर दुबै पक्षबीचको गतिरोधको अन्त्य हुन सकेन । अहिले मुस्लिम समुदायको पवित्र रमादानको आधा महिना बितिसकेको छ । गत शुक्रबार नेतान्याहुले दोहा र कायरोमा नयाँ चरणको युद्धविराम वार्ता गर्नेगरी स्वीकृति प्रदान गर्नु भएको थियो । प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री नेतान्याहुले इजरायली गुप्तचर निकाय (मोसाद) का प्रमुख डेभिड बार्नीलाई वार्ताका बारेमा बताइसक्नु भएको जनाएको छ । तर बार्नी स्वयं यी वार्तामा सहभागी हुने वा नहुने बारेमा केही बताइएको छैन । गाजामा बन्धक बनाइएका परिवारका सदस्यले इजरायलको ठूलो शहरको मुख्य राजमार्गमा विरोध प्रदर्शन गरेपछि सरकारले पुनः वार्ताको पहल थालेको अनुमान गरिएको छ । प्रदर्शनकारीले बन्धक छुटाउन र गाजामा इजरायलले गरिरहेको युद्धप्रति विरोध जनाएका थिए । हमास विद्रोहीले अक्टोबर ७ का दिन इजरायली भूमिमा प्रवेश गरी २५० जनालाई बन्धक बनाएका थिए जसका कारण इजरायल र हमासबीच भिषण युद्ध जारी छ । इजरायलको अनुमानमा १३० जना अझै पनि हमासको नियन्त्रणमा रहेका र ३३ जना मारिएका छन् । युद्धविरामको एक प्रमुख शर्त भनेको गाजामा बन्धक बनाइएका इजरायलीलाई मुक्त गर्ने र इजरायलको जेलमा रहेका प्यालेस्टिनीलाई छाड्ने रहेको छ । यसैबीच, फ्रान्सका विदेशमन्त्री स्टेफानी सेजोर्न पनि इजरायल–हमासबीच युद्धविराम गराउन कायरो भ्रमणमा रहेका छन् । उनले जोर्डनका कुटनीतिज्ञसँग पनि यसबारेमा परामर्श गर्नेछन् । गत सोमबार राष्ट्रसंघ सुरक्षा परिषदले पनि गाजामा तत्काल युद्धविराम गर्ने सम्बन्धी एक प्रस्ताव पारित गरिसकेको छ । गाजा युद्धका कारण इजरायलले गरेको सैनिक कारबाहीमा कम्तीमा ३२ हजार ७०५ जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ । मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेका छन् ।
गाजामा युद्धविराम गर्न कायरमा वार्ताको तयारी
- Dainik Nepalgunj

- Categories: World
Related Content
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु
by
Dainik Nepalgunj
February 17, 2026
ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना
by
Dainik Nepalgunj
February 15, 2026
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा
by
Dainik Nepalgunj
January 21, 2026
मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी हस्तक्षेप
by
Dainik Nepalgunj
January 4, 2026
सन् २०२६ मा विश्वव्यापी आणविक हतियार नियन्त्रण सङ्कटमा
by
Dainik Nepalgunj
December 22, 2025