कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरामा निर्माण गरिएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको छ । कोरोना महामारीका बेला सङ्घीय सरकारले भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्ने उद्देश्यले बनाएको होल्डिङ सेन्टर स्वामित्व हस्तान्तरण नहुँदा प्रयोगविहीन बनेको हो । करिब दुई वर्षअघि सङ्घीय सरकारको रु २८ करोड ८१ लाखमा निर्माण भएको होल्डिङ सेन्टरमा ५९ वटा ब्लक बनाएका छन् । होल्डिङ सेन्टरमा २० वटा क्वारेन्टिन, दुईवटा चिकित्सक कक्ष, २२ वटा शौचालय तथा १५ वटा भान्साकोठा निर्माण गरिएका छन् । एक हजार क्षमताको होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरणमा भने अहिलेसम्म कुनै टुङ्गो लाग्न सकेको छैन । होल्डिङ सेन्टरको स्वामित्व सङ्घ, प्रदेश वा स्थानीय सरकार कसले लिने भन्ने अहिलेसम्म कुनै टुङ्गो नलागेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “छलफल धेरै भएको छ । कसको मातहत जाने भन्ने लिखित आइसकेको छैन ।” “सङ्घीय सरकारको लगानीमा बनेको हो । कसलाई हस्तान्तरण गर्ने के सञ्चालन गर्ने हामीलाई केही निर्देशन आइसकेको छैन”, उहाँले भन्नुभयो । कैलालीको धनगढी उपमहनगरपालिकाले स्वामित्व लिएर बाल अस्पताल बनाउने प्रस्ताव गरेको भए पनि त्यसको केन्द्र सरकारबाट सहमति नआएको उपमहानगरका स्वास्थ्य शाखाप्रमुख योगेश अवस्थीले बताउनुभयो । “हामीले एउटा भवन लिएर बाल अस्पताल सञ्चालन गर्ने भनेर प्रस्ताव पेस गरेका थियौँ । हस्तान्तरणको सहमति आएन ।” “सुरुमा प्रदेश सरकारले चलाउने भन्ने कुरा भएको थियो । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कुरा भएको थियो,” सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता हेमराज खड्काले भन्नुभयो, “स्वामित्व लिनका लागि मन्त्रालयबाट पहल भएको थियो । केन्द्रबाट त्यसको कुनै टुङ्गो लागेन ।” विसं २०७८ वैशाखमा निर्माण सुरु भएको होल्डिङ सेन्टर २०७९ साउनमा निर्माण सम्पन्न भएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । नेपाली सेनामार्फत हनुमान कन्स्ट्रक्सनले होल्डिङ सेन्टर निर्माण गरेको थियो । हाल नेपाली सेनाले होल्डिङ सेन्टरको रेखदेख गरिरहेको छ । प्रयोगविहीन हुँदा होल्डिङ सेन्टर जीर्ण बन्दै जाने खतरा पनि बढेको छ ।
स्वामित्व हस्तान्तरण नहुँदा होल्डिङ सेन्टर प्रयोगविहीन
- Dainik Nepalgunj
- Categories: News, मुख्य समाचार
Related Content
मधुवा रोगको समस्याले किसान चिन्तित
by
Dainik Nepalgunj
April 19, 2026
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
by
Dainik Nepalgunj
April 19, 2026
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
by
Dainik Nepalgunj
April 19, 2026
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
by
Dainik Nepalgunj
April 19, 2026
सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष
by
Dainik Nepalgunj
April 19, 2026