गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि आज विशेष बैठकको आह्वान गरिएको छ । विश्व आर्थिक मञ्चको साउदी अरबद्वारा आयोजित आइतबारदेखि सुरू हुने दुई दिने विशेष बैठकमा गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव समाधान छलफलको केन्द्रमा रहने अपेक्षा गरिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, प्यालेस्टाइनी नेता र इजरायल र हमासबीच युद्धविरामका लागि मध्यस्थता गर्ने प्रयास गरिरहेका अन्य देशका उच्च पदस्थ अधिकारीहरू विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबको राजधानी रियादमा हुने शिखर सम्मेलनको अतिथि सूचीमा छन् । साउदी अरबका योजनामन्त्री फैजल अल–इब्राहिमले शनिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “विश्व अहिले सुरक्षा र समृद्धिलाई सन्तुलित बनाउने प्रयासमा छ । “हामी यस्तो क्षणमा भेट्छौं जब एक गलत निर्णय वा एक गलत अनुमान वा एक गलत सञ्चारले हाम्रो चुनौतीलाई अझ बढाउनेछ । एएफपीले इजरायली आधिकारिक तथ्याङ्कको आँकडाअनुसार अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको अकल्पनीय आक्रमणबाट सुरु भएको गाजा युद्धका कारण करिब एक हजार १७० व्यक्तिको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सर्वसाधारण थिए । आक्रमणका क्रममा गत अक्टोबर ७ मा लडाकुहरूले कब्जामा लिएका १२९ जना बन्धकहरू अझै गाजामा रहेको र तीमध्ये ३४ जनाको मृत्यु भइसकेको इजरायलको अनुमान छ । बैठकमा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास, मध्यपूर्व र युरोपका विदेशमन्त्री तथा प्रधानमन्त्रीसमेत सहभागी हुनेछन् । उक्त अवसरमा फ्रान्स, जर्मनी, बेलायत र युरोपेली सङ्घका विदेशमन्त्री तथा कतार, जोर्डन, इजिप्ट र इराकका प्रधानमन्त्रीसमेत सहभागी हुनेछन् । सम्मेलनमा एक हजारभन्दा बढी सहभागीमध्ये १२ जना राष्ट्राध्यक्ष र सरकार प्रमुखको सहभागिता रहेको ब्रेन्डेले शनिबार जानकारी दिनुभयो । सम्मेलनमा वासिङ्टनका उच्च कूटनीतिज्ञ इन्टोनी ब्लिन्केनसमेत सहभागी हुने अपेक्षा गरिएको आयोजक साउदी अरबले जनाएको छ । विश्व आर्थिक मञ्च (डब्ल्युइएफ) का अध्यक्ष बोर्गे ब्रेन्डेले शनिबार रियादमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन चीन भ्रमणपछि इजरायल जाने क्रममा साउदी अरबमा पुग्नुहुने कार्यक्रम तय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “ गाजामा हामीले सामना गरिरहेको गतिरोधबाट बाहिर निस्कने सम्भावित उपाय र बन्धकहरूबारे केन्द्रित वार्तामा अब केही नयाँ गति आएको छ । सम्मेलनमा गाजामा जारी मानवीय अवस्था र इरानसँगको क्षेत्रीय पक्षहरूमा पनि छलफल हुने भएकोले यो धेरै परिणामी बैठक बन्ने सबै सम्भावना छन् ।” हमासले गाजामा सम्भावित युद्धविरामका सम्बन्धमा इजरायलको पछिल्लो प्रति प्रस्तावबारे शनिबार अध्ययन गरिरहेको बताएको छ भने सञ्चार रिपोर्ट अनुसार वार्ताको मध्यस्थता गरिरहेको इजिप्टको एक प्रतिनिधिमण्डल अवरुद्ध वार्ता सुरु गर्न इजरायल पुगेको उल्लेख गरिएको छ । साउदी अरबले इजरायललाई कहिल्यै मान्यता दिएको छैन तर अक्टोबर ७ मा भएको आक्रमणअघि नै इजरायललाई मान्यता दिनेबारे विचार गरिरहेको छ । रियाद र वासिङ्टनले आफ्नो सुरक्षा साझेदारीलाई अझ मजबुत बनाउने सम्झौतामा वार्ता जारी छ । साउदी अधिकारीहरूले गाजामा युद्ध र सम्भावित क्षेत्रीय द्वन्द्वले खाडी राज्यको महत्त्वाकाङ्क्षी दृष्टिकोण सामाजिक र आर्थिक सुधार एजेन्डा–२०३० लाई बाधा पु¥याउन सक्ने आशङ्का व्यक्त गरेका छन् ।
गाजामा युद्धविराम विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा
- Dainik Nepalgunj

- Categories: World
Related Content
पश्चिम बङ्गालमा चुनावी हिंसा, भाजपाका सहयोगीको हत्या
by
Dainik Nepalgunj
May 7, 2026
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
by
Dainik Nepalgunj
May 5, 2026
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
by
Dainik Nepalgunj
May 3, 2026
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट सैनिक फिर्ता
by
Dainik Nepalgunj
May 2, 2026
सुकीलाई नजरबन्दमा सार्ने निर्णय
by
Dainik Nepalgunj
May 1, 2026