३५ लाखको लगानीमा ‘इन्डोर स्केटिङ्ग’

स्केट हाउस अर्थात् स्केटिङ्ग खेलका लागि एउटा छुट्टै ‘इन्डोर स्केटिङ्ग’को व्यवस्था । युवा उद्यमीहरूको एउटा टोलीले नेपालगन्जमा खेलकुदको क्षेत्रका रूपमा सम्भावना बोकेको स्केटिङ्ग सञ्चालनमा ल्याउन लागेका छन् ।

आज शनिबारबाट नेपालगन्ज स्केट हाउस सञ्चालनमा ल्याउन लागिएको हो । ‘पूर्ण रूपमा सञ्चालनमा आइसक्दा ३५ लाख लगानी पुग्नेछ’, स्केट हाउसका सञ्चालक मोहन चन्दले दैनिक नेपालगन्जसँग भने, ‘बालबालिकादेखि युवा हुँदै अधवैशेहरूका लागि समेत यो महत्वपूर्ण खेलका रूपमा स्थापित हुने हाम्रो विश्वास हो ।’

मोबाइलमा रमाएर आफ्नो शारीरिक तथा मानसिक जीवन अनुत्पादक बनाइरहेका बालबालिका, घर बाहिर रमाउने अवस्था देख्न नसकेका किशोरकिशोरी तथा शारीरिक व्यायाम गर्न नभ्याउने प्रौढहरूका लागि स्केटिङ्गले उनीहरूलाई मनोरञ्जन मात्रै होइन स्वस्थ शरीर र स्फूर्त मानसिक अवस्थाको विकास गर्ने विश्वास सञ्चालकको छ ।

‘त्यसका लागि हामी राष्ट्रिय स्तरका स्केटिङ्ग खेलाडीलाई प्रशिक्षकका रूपमा नियुक्त गरेका छौं’, पाठ्यपुस्तक व्यवसायीका रूपमा नेपालगन्जमा ख्याती कमाएका युवा उद्यमी चन्दले आफु सहित तीन जना युवा व्यवसायीको सामूहिक लगानीमा सञ्चालनमा आएको नेपालगन्ज स्केट हाउसबारे जानकारी दिंदै भने, ‘यसअघि सुदूरपश्चिमका दुई मुख्य शहरमा सफल स्केटिङ्ग सञ्चालनपछि नेपालगन्जमा सुरुवात हुन गैरहेकाले विश्वस्त छौं, यसबाट सबै लाभान्वित हुनुहुनेछ ।’

शनिबार औपचारिक कार्यक्रम बीच स्केट हाउस सञ्चालनमा ल्याइने र त्यससँगै विभिन्न ‘अफर’ उद्घोष हुने जानकारी चन्दले दिएका छन् ।

Exit mobile version