‘नेपालगन्जलाई विपद् हब घोषणा गरौं’

नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्जलाई विपद् हबका रुपमा घोषणा गरि पूर्व तयारी, उद्दार तथा राहतमा आवश्यक कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

विहीवार नेपालगन्जमा पत्रकारहरुका लागि बिपद्बारे दुई दिने तालिम उद्घाटनमा नगर प्रमुख विष्टले भने, ‘नेपालगन्जले बाँकेमात्रै होइन, मध्य तथा सुदूरपश्चिमका सबै जिल्लामा आइपर्ने विपद्मा पूर्व तयारी, उद्दार तथा राहतमा सहयोगी भूमिका खेलिरहेकाले विपद् हबका रुपमा घोषणा गरि अगाडी बढ्नु आवश्यक छ ।’ अहिलेसम्म पूर्व तयारीका लागि नेपालगन्जमा थुप्रै नीतिगत कामहरु भएको उनको भनाइ थियो ।

नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को समन्वयमा आयोजना गरिएको तालिम उद्घाटनमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बिपद्को बेला सही सूचना महत्वपूर्ण हुने बताए । उनले त्यसका लागि सरोकारवाला निकायहरु जवाफदेही बन्नुपर्ने र मिडियाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका बिपद समिति संयोजक समिर प्रताप सिंहले बिपद जतिबेला पनि आउन सक्ने भएकाले सबै सचेत हुनुपर्ने र सहयोगी भावना सबैमा हुनुपर्ने भनाइ राखे ।

कार्यक्रममा रेडक्रस बाँकेका सभापति गोबद्र्धन सिंह सम्झनाले बिपद्को बेला सबै जना सुरक्षित भएर काम गर्नुपर्ने भएकाले सूचना सहीरुपमा प्रवाह गर्नुपर्ने ुझाव दिए ।

आज शुक्रबारसम्म सञ्चालन हुने तालिमको सहजीकरण राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सञ्चार विज्ञ रञ्जना श्रेष्ठ, बिबिसी मिडिया एक्सनका किरण भण्डारी, मेघराज रसाइली र कामना प्रधानले गरिरहेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

बाँकेका झण्डै तीन दर्जनबढी सञ्चारमाध्यम आवद्ध पत्रकारहरुको सहभागिता भइरहेको तालिमले पत्रकारहरुलाई बिपद्का समयमा कसरी आफू सुरक्षित भएर रिपोर्टिङ गर्ने र समुदायलाई सुरक्षित बनाउने भन्ने कुरामा मद्दत पुग्ने विश्वास आयोजकले लिएको ज्ञवालीको भनाइ छ ।

तालिमको पहिलो दिन बिबिसी मिडिया एक्सनका किरण भण्डारी, मेघराज रसाइली र राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सञ्चार विज्ञ रञ्जना श्रेष्ठले विभिन्न विपद्जन्य सवालका सञ्चार संवेदनशीलतामा चर्चा गरेका थिए ।

Exit mobile version