कार्यान्वयनमा नेपालगन्जमा आवासीय घर बीमा

नेपालगन्ज उपमहानगरपालिकाले आवासीय घर बीमा कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको छ । विपद जोखिम सम्बन्धी कार्यविधि २०८० बनाएको उप–महानगरपालिकाले त्यसलाई कायान्वयनमा ल्याएको हो ।

शुक्रवार आयोजित एउटा कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले विपदपछिको पीडा कम गर्न आवासीय घर बीमाले काम गर्न विश्वास व्यक्त गर्दै कार्यान्वयनमा ल्याएको बताए ।

उपमहानगरपालिकाका विपद व्यवस्थापन समितिका संयोजक समीर प्रताप सिंहका अनुसार, विपद दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्र आवास बीमा कार्यक्रमलाई अगाडी बढाएको हो । संयोजक सिंहका अनुसार, विपद दुर्घटना बीमामा नगरभित्रका सबै घरहरूको बीमा गरिने छ भने जोखिमग्रस्त क्षेत्र आवास बीमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको बीमा गर्नेछ । ‘त्यसका लागि झण्डै तीन सय घर धुरी सर्भेक्षण समेत गरिसकिएको छ,’ सिंहले दैनिक नेपालगन्जसँग भने ।

उपमहानगरपालिकाले १५ लाखसम्मको बीमा गरिदिने भएको हो । १५ लाखसम्मको घरको बीमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने र १५ लाख भन्दा माथिको हकमा व्यक्ति स्वयंमले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको छ । १५ लाखको बीमा गर्दा ५ सय ८४ रुपैयाँ प्रिमियम पर्दछ । त्यसका लागि राष्ट्रिय बीमा कम्पनिसँग सहकार्य गरिंदैछ ।

नेपालगन्जको वडा ३ र ७ मा सहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालित छ । सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ। त्यसैको पहलमा यसरी काम भइरहेको हो । सुपरका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार, वडा नं. ३ र ७ मा भवनको घनत्व बढी छ । सांघुरो बाटा छन् । पुरानो बस्ती भएकाले घर जीर्ण छन् । त्यसैले त्यहींबाट काम अगाडी बढाइएको हो ।

विपद व्यवस्थापन समितिका संयोजक सिंहले सुपरले थप केही वडामा काम गर्ने गरि छलफल प्रस्ताव अगाडी बढाइएको पनि बताए ।

दुई दिन देखि बाँकेका पत्रकारका लागि सञ्चालित विपदबारे पत्रकारिता तालिम शुक्रवार सकिएको छ । तालिम समापनमा नगर प्रमुख विष्टले नेपालगन्जले विपद्बारे आफ्ना लागि मात्रै नभएर पश्चिमका विभिन्न जिल्लाका लागि काम गरिरहनु परेको बताए ।

तालिमको दोस्रो दिन सरोकारवालाहरुबीच विपद क्लिनिक सञ्चालन गरिएको थियो ।

Exit mobile version