हुण्डी कारोबार गर्ने चार पक्राउ

अबैध रूपमा हुण्डीको कारोबारले देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ । विगतमा नेपालमा ठूलो परिमाणमा हुण्डिको कारोबार भैरहेको आशंका गरिन्छ । प्रहरीले बेलाबेला हुण्डि कारोबारीलाई पक्राउ गर्दै आएको छ ।

लाखौँ नेपालीहरू वैदेशिक रोजगारमा छन् । त्यसैको बलमा देशको अर्थतन्त्र अडिएको छ । नेपालको अर्थतन्त्रलाई रेमिटेन्सले धानेको पनि भनिन्छ । हुन पनि हो, विदेशमा श्रम बेचेर आएको पैसा निश्चित सेवा शुल्क तिरेर बैंक वा रेमिटेन्स कम्पनीमार्फत घर पठाएर नै अर्थतन्त्रमा ठूलो योगदान पुगेको छ । तर पछिल्लो समयमा
बैंकिङ च्यानलको सट्टामा अन्य दलालहरूको माध्यमबाट पैसा पठाउने क्रम बढेको छ । जसलाई हुण्डी कारोबार भनिन्छ, त्यसले अर्थतन्त्रमा ठूलो धक्का पुर्याएको छ ।

बाँकेमा पनि हुण्डि कारोबारी फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार चार जनालाई हुण्डीको कारोबारको संलग्नताका आरोपमा पक्राउ गरेको छ ।

बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक नारायण डाँगीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ बाट नगद र हुण्डीमा संलग्न हुनसक्ने हरहिसाब भेटिएको बताएका छन् । बाँके प्रहरीले बेलासपुरमा स्थित हुण्डी कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा कारवाही गर्दा २४ लाख ६२ हजार ३ सय १५ रूपैयाँ नगद फेला पारेको हो । ‘त्यसक्रममा हरहिसाव राखेको कपी थान १, सानो नोट बुक थान १, बिभिन्न व्यक्तिको नाममा विभिन्न बैंकमा पैसा जम्मा गरेको भौचरहरू समेत
बरामद गरिएको छ’, प्रहरी प्रवक्ता डाँगीले भने ।

बाँके प्रहरीले हुण्डी कारोबारमा संलग्नताको आरोपमा राजेश भुजु श्रेष्ठ, सोयब कादरी हलवाई, निम बहादुर बोहरा, राहुल देवललाई पक्राउ गरेको हो ।

यसअघि पनि बाँकेमा प्रहरीले स्रोत नखुलेको रकम सहित मानिसहरू पक्राउ गर्दै आएको छ ।

‘हुण्डी कारोबारको आशंकामा मानिसहरू नियन्त्रणमा लिएका हौं’, बाँके प्रहरी प्रवक्ता डाँगीले अनुसन्धान जारी रहेको जानकारी दिंदै भने, ‘अनुसन्धानपछि थप विषयहरू स्पष्ट हुन्छ ।’

Exit mobile version