देशमा आजः ८ बजे ८ खबर

१. नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको लेदो पहिरोमा बगेर सडकदेखि तल त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई वटा बस र त्यसमा रहेका यात्रुहरूको खोजीका लागि भारतीय उद्वार टोली चितवन पुगेको छ ।

२. सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको शनिवार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

३. सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको निरीक्षण गर्दै गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुनलाई समयक्रमसँगै संशोधन गर्न आवश्यक भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको बताएका छन् ।

४. राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुनी विपद्मा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप दुई लाख रुपैयाँका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ ।

५. गत १३ असारमा सार्वजनिक माध्यमिक शिक्षा परीक्षाको नतिजामा चित्त नबुझेर पुनर्योग (रिटोटलिङ) गर्दा थप ९४ जना परीक्षार्थीले ४ जीपीए ल्याएको पाइएको छ ।

६. नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिबृज र सडक विभागलाई हस्तान्तरण गरिएको छ ।

७. शुक्लाफाँटा नगरपालिका १० स्थित झलारी आयुर्वेद औषधालयलाई आर्थिक अभाव हुँदा सेवा बन्द हुने अवस्थमा पुगेका छन् । औषधीको व्यवस्था गर्न नसक्दा सञ्चालन हुँदै आएको पञ्चकर्म सेवा बन्द भएको औषधालयका कविराज जयराम शाहले बताए ।

८. नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा मात्र रु एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख सरकारी ऋण थपिएको छ ।

Exit mobile version