बर्षाले राहत, खोलाबाट तीनको उद्दार

चर्को गर्मीबाट नेपालगन्जबासीले बुधबार राहत महसुस गरेका छन् । बुधबार विहानै देखि परेको झरी र बादलिएको आकाशका कारण गर्मीबाट नेपालगन्जमा राहत महसुस गरिएको हो ।

यद्यपि, झरीका कारण नेपालगन्जका कतिपय ठाउँमा पानी तालिदा पसल व्यवसायी तथा यात्रुहरूलाई समस्या भएको थियो । नेपालगन्जको घरबारीटोल, गणेशपुर, त्रिभुवनचोक पूर्वलाइनमा पानी तालिएको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार नेपालगन्जमा ११३.१ मिलिमिटर बर्षा भएको छ । बुधबार नेपालगन्जको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २७ डिग्री सेल्सियस रह्यो ।

प्रहरीले बुधबार खोलामा फँसेका तीन जनाको उद्दार गरेको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ स्थित दोन्द्रा खोलामा फसेका व्यक्तिहरूको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ बस्ने कुल बहादुर थारुको उद्दार गरिएको हो । खोला तर्ने क्रममा उक्त खोलाको बीच जँघारमा फसेको भनि खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले थारुलाई उद्दार गरेको छ ।

त्यस्तै, खोलाको डिलबाट खसेका सहजराम मौर्य र परशुराम यादवको पनि प्रहरीले सकुशल उद्दार गरेको बाँके प्रहरीले बताएको छ ।

Exit mobile version