यौन तथा प्रजनन् स्वास्थ्य प्रशिक्षण

बर्दियाका विभिन्न पाँच नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थालाई किशोर–किशोरी मैत्री बनाउन त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य प्रशिक्षण दिइएको छ ।
राधाकृष्ण थारु जनसेवा केन्द्रले प्लान इन्टरनेशनलको सहयोगमा नेपालगन्ज स्थित भेरी अस्पताल प्रशिक्षण केन्द्रमा पाँच दिनसम्म त्यसखालको प्रशिक्षण आयोजना गरेको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, गुलरिया, मधुवन, गेरुवा, ठाकुरबाबा र बारबर्दिया नगरपालिकाका स्वास्थ्य प्रमुख तथा प्रतिनिधिलाई पाँच दिनसरम्म त्यसखालको प्रशिक्षण दिइएको हो ।
‘यहाँ प्रशिक्षित स्वास्थ्यकर्मीहरुले आफ्नो निकायलाई किशोरकिशोरी मैत्री बनाउनुका साथै हाम्रो परियोजना क्षेत्रभित्र आवश्यक सहजीकरणका लागि परिचालित हुनुहुनेछ’, अध्यक्ष श्रेष्ठले तालिम समापन कार्यक्रममा बुधबार भने ।

स्वास्थ्य तालिम केन्द्र लुम्बिनीका निर्देशक महेश्वर श्रेष्ठले प्रशिक्षित जनशक्तिका कारण बर्दियाका पाँच वटै पालिकाका स्वास्थ्य केन्द्र किशोर, किशोरीमैत्री हुने विश्वास व्यक्त गरे । ‘तपाईहरु किशोर, किशोरीका हरेक प्रश्नका जवाफ दिन उनीहरुकै वातावरणमा तयार हुनुपर्छ’, निर्देशक श्रेष्ठले प्रशिक्षित १५ जना स्वास्थ्यकर्मीहरुलाई प्रमाणपत्र प्रदान गर्दै भने ।
भेरी अस्पतालका तालिम संयोजक शिला शर्माका अनुसार, सहभागीहरुलाई विभिन्न घटना अध्ययनका आधारमा प्रशिक्षित गरिएको थियो । ‘सहभागीहरुको अपेक्षा संकलनदेखि अनुभव आदानप्रदानसम्मका विधिबाट प्रशिक्षण दिइएको पाँच दिनसम्म घटना अध्ययन प्रक्रियालाई प्रस्तुतिकरण गरेरै तालिम प्रभावकारी बनाइएको छ’, तालिम संयोजक शर्माले त्यसबीच विभिन्न प्रशिक्षकहरुले सहभागीहरुलाई प्रशिक्षित गरेको जानकारी दिंदै भनिन् ।

तालिममा सहभागीका तर्फबाट बारबर्दिया नगरपालिकाका नगर अस्पताल नर्सिङ्ग निरीक्षक बिना बस्नेतले किशोरकिशोरीहरुका लागि स्वास्थ्य सेवा प्रवाहमा आफुहरु संवेदनशील नै रहेपनि प्रशिक्षणले धेरै कुरामा निपूर्ण बनाएको बताइन् ।

Exit mobile version