घाट बनाउन महायज्ञ लगाइँदै

राप्तीको सिधनियाघाटमा सुविधा सम्पन्न आधुनिक र आकर्षक ‘वैकुण्ठ धाम’ निर्माण प्रक्रियाले मूर्त रूप पाउने भएको छ । त्यसका लागि राप्ती किनारमा १४ कठ्ठा जमिन खरिद प्रक्रिया अगाडि बढ्नुका साथै स्रोत व्यवस्थापनका लागि महायज्ञ आयोजना गरिने भएपछि बैकुण्ठधाम सिधनियाघाट निर्माणले मूर्त रूप पाउने भएको हो ।

‘जग्गा खरिद प्रक्रियाका लागि शनिबार ४ लाख रूपैयाँ बैना समेत दिइएको छ’, बैकुण्ठधाम सिधनियाघाट राप्ती बाँके निर्माण समितिले आन्तरिक स्रोतबाटै आर्थिक व्यवस्थापन गरेको जानकारी दिंदै समितिका सदस्य श्रीराम सिग्देलले भने । सिग्देलका अनुसार, मूल समितिका संयोजक डा. सुरेश कुमार कनोडियाले जग्गाधनीलाई शनिबार उक्त रकम प्रदान गरेका हुन् ।

१४ कठ्ठा जग्गा सुनिश्चित भएपछि आर्थिक स्रोतका लागि महायज्ञ गरिने भएको छ । त्यसका लागि बैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिले आज आइतबार पत्रकार सम्मेलन मार्फत त्यसबारे धारणा सार्वजनिक गर्ने बताएका छन् । समितिका सदस्य सिग्देलका अनुसार, वाचन शिरोमणि पण्डित दिनबन्धु पोखरेललाई मूल वाचकका रूपमा राखेर महायज्ञ गरिने योजना बनाइएको छ ।

घाटका लागि कम्तिमा दुई विगाह जमिन आवश्यक पर्ने समितिको अनुमान छ । ‘बोटानिकल पार्कदेखि आकर्षक मन्दिर सहितको बैकु्ण्ठघाट निर्माण कार्य हुने भएकाले जति धेरै स्रोतको सुनिश्चितता हुन्छ त्यति नै राम्रो निर्माण गर्न सकिने सोंच हो’, सिग्देलले भने ।

बैकुण्ठधाम निर्माणका लागि विभिन्न दाताहरूले आर्थिक सहयोगको घोषणा समेत गरिसकेका छन् । भने विभिन्न सांसदहरूले पनि राज्य कोषका विभिन्न ठाउँबाट स्रोतको सुनिश्चितताका लागि पहलको प्रतिबद्धता जनाएका छन् ।

Exit mobile version