सेन्थेटिक ट्रयाक : छानबिन गर्दै राखेप

नेपालगन्ज रंगशालामा झण्डै १० करोड लागतमा निर्माण भएको सेन्थेटिक ट्रयाक उक्किएपछि त्यसको अध्ययन अनुसन्धान सँगै बिस्तृत छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले छानबिन समिति गठन गरेको छ । राखेपका सदस्य लेख बहादुर क्षेत्रीको संयोजकत्वमा खेल विज्ञ, एथलेक्टिक्स प्रशिक्षक चन्द्र बहादुर गुरुङ्ग र राखेपका इन्जिनियर पूर्ण बहादुर सुन्दास सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।
राखेप स्रोतका अनुसार, आइतबार भएको सदस्य सचिव स्तरीय निर्णयबाट बनेको क्षेत्री संयोजकत्वको अध्ययन समितिले तीन दिनभित्र राखेपलाई प्रतिवेदन पेश गर्नुपर्नेछ ।

नेपालगन्ज रंगशालामा निर्मार्णाधिन सेन्थेटिक ट्रयाक–पञ्चकन्या सिन्टकोट्स जेभी कुपन्डोल काठमाडौंले १० करोड बढी लागतमा निर्माण गरेको हो । निर्माण हस्तान्तरण नहुँदै ट्रयाक उक्किएपछि गुणस्तरको प्रश्न उठाउँदै दैनिक नेपालगन्ज लगायत स्थानीय सञ्चारमाध्यमहरूले अनियमितताको आशंका सहित समाचार प्रकाशन, प्रसारणमा ल्याए लगत्तै राखेपले सदस्य सचिव स्तरीय निर्णय अनुसार अध्ययन समिति निर्माण गरेको हो ।

‘सेन्थेटिक ट्रयाकमा क्र्याक आएको देखिएकाले सो विषयको अध्ययन गरी तीन दिनभित्र परिषद् समक्ष प्रतिवेदन पेश गर्न राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ बमोजिम निर्णय गरिएको’ राखेपका प्रशासन विभाग प्रमुख प्रेम बहादुर मल्लले अध्ययन उपसमितिलाई दिएको पत्रमा उल्लेख छ । छानविन समितिका संयोजक क्षेत्रीले त्यसबारे आफुले प्रारम्भिक अध्ययन गरिसकेको र प्राविधिक अध्ययन सहितको प्रतिवेदन राखेपमा बुझाउने बताए ।

‘यो घटनाले हामीलाई गम्भीर बनाएको छ’, छानबिन समितिका संयोजक क्षेत्रीले दैनिक नेपालगन्जसँग भने, ‘यसबारे राखेप जसरी गम्भीर बन्यो स्थानीय जनप्रतिनिधि र सरोकारवाला सबै खेल पूर्वाधारको संरक्षण र गुणस्तरको मामिलामा गम्भीर हुन जरुरी छ ।’ त्यसबारे आफुले निरन्तर आवाज उठाइरहेको राखेप सदस्य क्षेत्रीको भनाइ छ ।

सेन्थेटिक ट्रयाक निर्माण प्रक्रियामा भैरहेको ढिलाई र लापरवाहीबारे दैनिक नेपालगन्जले पटकपटक समाचार सम्प्रेषण गरेको थियो ।
आठौं राष्ट्रिय खेलकुद ताका करोडौंका खेल पूर्वाधार बनेपनि त्यसको प्रयोग र संरक्षणमा राखेपको समेत ध्यान गएको पाइँदैन । रंगशाला भित्र रहेको खेल मैदान उपयोगहीन अवस्थामा रहीरहँदा आठौं खेलकुदकै प्रतिवद्धता कार्यान्वयन स्वरुप सेन्थेटिक ट्रयाक बनाइएको थियो ।

Exit mobile version