आज श्रीकृष्ण जन्माष्टमी

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज सोमबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

आज नेपालगन्ज–१८ कारकाँदो स्थित राधाकृष्ण मन्दिरले श्रीकृष्ण जन्माष्टमी उत्सव गर्दैछ । त्यसका लागि दुलही झै सिंगारिएको मन्दिरमा सोमबार लाखबत्ती प्रज्वलन गरिंदैछ । ‘भजन किर्तनका साथै सार्वजनिक प्रसाद वितरण कार्यक्रम पनि हुनेछ’, मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव कपिल नेपालले भने । उनका अनुसार, कृष्णाष्टमी उत्सवलाई भव्यता दिन आवश्यक सबै तयारी गरिएको छ ।

‘मन्दिर स्थापनादेखि नै कृष्णाष्टमी उत्सवलाई भव्य रूपमा मनाउँदै आएका छौं’, मन्दिर व्यवस्थापन समितिका पूर्व पदाधिकारी कृष्ण गुप्ताले भने । गुप्ताका अनुसार, मन्दिरमा दर्शन तथा पुजाका लागि टाढाटाढाबाट श्रद्धालु भक्तजनहरू आउने गरेका छन् । ‘भक्तजनको भीडलाई मध्यनजर बाइपास भएर आउने यातायात सोमबार दिउँसोदेखि राती १ बजेसम्मका लागि पूर्ण रूपमा बन्द गराइदिन प्रहरी, प्रशासनलाई आग्रह गरेका छौं,’ लाखबत्ती, प्रज्वलन, प्रसाद वितरण तथा भजन किर्तन कार्यक्रमका कारण उत्सवमा ठूलो सहभागिता रहने जानकारी दिंदै मन्दिर व्यवस्थापन समितिका सदस्य हिरा खरालले भनिन्, ‘अहिलेदेखि नै सोमबार मध्यरातसम्म मन्दिरमा भक्तजनहरूको उपस्थिति हुनेछ ।’ खरालले त्यसो भनिरहँदा राधाकृष्ण मन्दिरमा सरसफाई, साजसज्जा र पूजा प्रसादका लागि व्यवस्थापन समिति सक्रिय देखिन्थ्यो ।

राधाकृष्ण मन्दिर सञ्चालन तथा व्यवस्थापनका लागि शान्तिराज रेग्मीको अध्यक्षतामा समिति सक्रिय छ ।

Exit mobile version