देशमा आजः ८ बजे ८ खबर

  1. जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।
  2. थाइल्यान्डमा भएको नयाँ राजनीतिक उतारचढापपछि थाइल्यान्डमा यही भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि पछि सरेको छ । थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गर्दै हालका लागि शिखर सम्मेलन गर्न नसक्ने उल्लेख गर्दै पछि गर्नु पर्ने उल्लेख गरेको हो ।
  3. एमाले काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने सम्बन्धी सर्वाेच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि सरकारसँग आग्रह गरेको छ ।
  4. नौबिसे–मुग्लिन सडकसँगै पारिबाट समानान्तर सडक निर्माण गर्ने भन्दै करिब डेढ वर्ष लगाएर तयार पारिएको विस्तृत अध्ययन प्रतिवेदन ६ वर्षदेखि सडक विभागमै थन्किएको छ ।
  5. ३० वर्षे सेवा अवधि अनुसार अनिवार्य अवकाश हुने व्यवस्था कार्यान्वयन नगर्न भन्दै प्रहरीप्रधान कार्यालयले सर्कुलर गरेको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले पत्राचार गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार ३० वर्षे कार्यान्वयन नगर्न भन्दै पत्राचार गरेको हो ।
  6. थापाथालीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट पछिल्लो एक वर्षमा २२ हजार ३७९ जनाले सुत्केरी सेवा लिएका छन् ।
    सोमबार ६५ औं वार्षिक उत्सवको अवसरमा अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले १० हजार भन्दा बढीले शल्यक्रियामार्फत सन्तान जन्माएको जानकारी दिए ।
  7. जिल्ला प्रहरी परिसर, काठमाडौंको नवनिर्मित भवन उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री रमेश लेखकले स्थिर सरकार नभएका कारण मुलुकमा सकारात्मक काम हुन नसकेकाले प्रमुख दुई दल मिलेर सरकार बनाएको बताएका छन् ।
  8. १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेको छ । उनीहरूविरूद्ध परेको उजुरी मंगलबार बस्ने समितिको बैठकमा खोलिँदैछ ।
Exit mobile version