सम्मानित भए सन्त महन्त र ब्रह्माकुमारी

श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नेपालगन्जमा श्रीकृष्ण जन्मोत्सव झाँकी सहित साँस्कृतिक उत्सव कार्यक्रममा सन्त महन्तसँगै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका सञ्चालकलाई सम्मान गरिएको छ ।

कसौधन शिरोमणि स्व.मोहनलाल वैश्यको स्मृतिमा श्रीकृष्ण जन्माष्टमी समितिको आयोजनामा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, क्षेत्रीय कार्यालय, नेपालगन्जको सहकार्यमा उत्सव आयोजना भएको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत श्रीकृष्ण जन्माष्टमी समितिका संयोजक नन्दलाल वैश्यको अध्यक्षतामा भएको दोस्रो दिनको कार्यक्रममा विभिन्न मठ मन्दिरका सन्त महन्तहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्ले, नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीको समुपस्थितिमा वागेश्वरी मन्दिर शक्तिपीठका मूल महन्त चन्द्र नाथ योगी, हडिया बाबा मन्दिरका मुल महन्त सोना गिरी (ओली बाबा), लक्ष्मीनारायण मन्दिरका मूल महन्त, शिवपुरी मन्दिर मुल महन्त र राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । कार्यक्रममा शिवपुरी मन्दिरका मुल महन्तको झण्डै १० फिट लामो जटाको प्रदर्शनले थप आकर्षक थपेको थियोे ।

कार्यक्रम संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनीनी ब्रह्माकुमारी दुर्गा दिदीले जन्माष्टमीको गहनतम रहस्य बारे प्रकाश पारिन् । ‘साच्चै श्रीकृष्णलाई प्रेम गर्छौं भने जीवनलाई नशामुक्त बनाउनु पर्दछ,’ उनको भनाइ थियो, ‘नराम्रा बानी रिसाउने, झुटो बोल्ने, अरुको प्रति नकारात्मक सोच्ने बानीहरु आदिको व्रत बस्नुपर्छ ।’

उक्त कार्यक्रम ब्रह्माकुमारी ईश्वरीय वि.वि.मा आवध्द बाँके, बासगढी, बर्दियाका बाल कलाकारहरुले विभिन्न नृत्य, नृत्यनाटकहरु तथा अन्य लघु नाटक म कृष्ण हुँ, गीत सहित चैतन्य झाँकी आदिको सुन्दर प्रस्तुतिले सबै भक्तजनलाई आकर्षित गरिरहेको थियोे । उक्त साँस्कृतिक कार्यक्रमको निर्देशन ब्रह्माकुमारी बबीता गुप्ता बहिनी र विशाल बस्नेत, बाँसगढी, बर्दियाले गरेका थिए भने कार्यक्रमको सफल संचालन अभिप्रेरक वक्ता संस्था नेपालगन्जका उप प्रमुख ब्रह्माकुमारी मुनाले गरेकी थिइन् ।

उत्सवको तेस्रो दिन बुधवार प्रतिष्पर्धात्मक किर्तन आयोजना गरिएको आयोजनाका अध्यक्ष बैश्यले जानकारी दिए ।

Exit mobile version