देशमा आजः ८ बजे ८ खबर

  1. गृहमन्त्री रमेश लेखकले नुवाकोटमा नवनिर्मित केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभई उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन् । शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारकाे उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताए ।
  2. चेपाङ समुदायले छोनाम (न्वागी) पर्व सामूहिक रुपमा मनाउने भएका छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रुपमा हरेक वर्ष भदौ २२ गते छोनाम (न्वागी) पर्व मनाउने गर्दछन् ।
  3. जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने बताएका छन् । जसपा, नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए ।
  4. संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले रैथाने बीउ, बाली हराउँदै जान थालेकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् । थाने एग्रो प्रोडक्ट्स् नेपाल टोखा–४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको शनिबार अवलोकन गर्दै उनले यस्ता विषयले नेपालका राजनीतिकर्मीको मन दुख्नुपर्ने बताए।
  5. वीरगन्ज भन्सार कार्यालय मातहतका ११ मध्ये ४ मात्र छोटी भन्सार संचानलमा रहेका छन् । हाल पर्साका ठोरी र भिष्वा तथा बाराका सिम्रौनगढ र मटिअर्वा छोटी भन्सार मात्र संचालनमा छन् ।
  6. चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौँको स्याउ अलपत्र परेको छ । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
  7. सरकारले पेट्रोलमा इथानोल मिसाउने गरी कानुन निर्माणको तयारी गरेको छ । उद्योग, वाणित्य तथा आपूर्ति मन्त्रालयले आफ्नो ‘सुधार कार्ययोजना’ मार्फत पेट्रोलमा इथानोल मिश्रण गर्ने सम्बन्धी कार्यविधि आगामी तीन महिनाभित्र तर्जुमा सम्पन्न गरी कार्यान्वयनमा ल्याउने बताएको छ ।
  8. प्रधानमन्त्री केपी शर्मा ओलीले माओआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । गत १० भदौको प्रतिनिधि सभा बैठकमा प्रचण्डले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए ।
Exit mobile version