सीमापारी नेपाली उपभोक्ताको घुइँचो

पर्व आर्थिक क्षेत्रलाई खुशी लिएर आउँछ । पर्वका बेला अन्य समयभन्दा मालासमानको बढी बिक्री हुने गर्दछ । तर, सीमावर्ती बजारका व्यवसायीले भने कुनै पनि पर्वमा अपेक्षित व्यवसाय गर्न पाउँदैनन् । कारण, सीमापारी बजारको आकर्षण ।

अब हिन्दुहरूको पर्व सुरु भएको छ । हरितालिका तिज आगामी शुक्रबार रहेको छ । तिज नजिकिंदै महिलाहरूले प्रयोग गर्ने कष्टमेटिक, गरगहना, लत्ताकपडाको ब्यापार ह्वात्तै बिक्री हुने गर्दछ । तर, नेपालगन्जका व्यवसायीहरू तिजका बेला पनि उत्साहजनक व्यापार नभएको बताउँछन् ।

नेपालगन्जका बजार प्रायः सुनसान हुँदा भारतीय बजार रूपैडियामा भने नेपाली खरिदकर्ताको घुइँचो लाग्ने गरेको छ । पछिल्ला दिन रूपैडिया बजारमा खरिदका लागि नेपालीहरूको संख्या रूपैडिहा पुग्ने जो कसैले अनुभवन गर्न सक्छन् ।

घरायसी प्रयोजन भन्दै बिना भन्सार मालसामान भित्रिन दिंदा स–सानो परिणाममा करोडौंको मालासमान दैनिक भित्रिने गरेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले दैनिक सरदर ६ करोड २५ लाखको मालसामान बिना भन्सार भित्रिने गरेको तथ्य यसअघि दाबी गरिसकेको छ ।

कोभिडका बेला भएको बन्दाबन्दीका बेला रूपैडिया जान रोकिंदा नेपाल तर्फको व्यवसाय फष्टाउन थालेपनि अहिले रूपैडिहा नै चाप बढेको व्यवसायी बताउँछन् । नेपाल भन्दा तुलनात्मक रूपमा भारतमा सस्तो सामान पाइने भन्दै नेपालीहरू दैनिक भारतीय बजारमा ठगीमा परिरहेका हुन्छन् । भारतीय बजारमा कम तौल, गुणस्तरहीन सामग्री, बिक्रीपछिको सेवामा उदासीनता लगायतको गुनासो हुने गरेको नेपालका व्यवसायीको भनाइ छ ।

‘सबै मालसामान रूपैडियामा सस्तो पाइने होइन, गुणस्तरका कुरा पनि हुन्छन्, त्यसमाथि कर छलेर मालसामान ल्याउनु बिक्री र प्रयोग गर्नु अनुचित हो’, व्यवसायी भन्छन् ।
भारतको रूपैडिहामा भेटिने अधिकांस ग्राहकहरूले सस्तको कारण रूपैडिहा आउनु परेको बताउँछन् । ‘नेपाली बजार भन्दा यहाँ सस्तो पाइने भएकाले खरिदका लागि आएका हौं’, गत शनिबार रूपैडिहामा कपडा खरिद गरिरहेकी पुष्पा अधिकारीले भनिन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी नेपाली खरिदकर्ता भारतीय बजार पुग्नुको विविध कारण रहेको बताउँछन् । उनी भन्छन्, ‘भन्सार नीति, करका दर तथा खुला सीमाका कारण भित्रिने अवैध मालसामानले नेपाली बजार धरायशी भैरहेको छ ।’ राज्यले भन्सारको सही व्यवस्थापन गर्ने हो भने अटोमेटिक नेपाली बजार फष्टाउने उनको भनाइ छ । ‘राज्यका सबै निकायमा त्यसबारे कुरा उठाएका छौं’, तर राज्य मुकदर्शक भैरहेको आरोप अध्यक्ष धामी लगाउँछन् ।

नेपालगन्जका व्यवसायीहरू कतिपय मालसामान नेपालमा नै सस्तो पर्ने बताउँछन् । तर, उपभोक्ता सचेत हुन नसक्दा र सचेत बनाइन नसक्दा पनि भारतीय बजार खरिदकर्ताको आकर्षण हुने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका कपडा व्यवसायी नन्दलाल वैश्य बताउँछन् ।

कतिपय मालसामान नेपालबाटै भारत जाने र त्यहाँबाट नेपालीले खरिद गर्ने गरेको समेत फेला पर्ने गरेको व्यवसायी बताउँछन् । कस्मेटिक सामाग्री, जडिबुटी, पेय पदार्थ लगायत धेरै मालासमान नेपालबाट भारत जाने गरेको त्यहाँबाट महंगो मूल्य तिरेर नेपालीले खरिद खरिरहेको व्यवसायीको भनाइ छ ।

संघका पूर्व अध्यक्ष वैश्यले पर्व सुरु हुँदा समेत नेपालगन्जको बजारले लय समात्न नसकेको बताउँछन् । ‘तिजले स्थानीय बजारमा खासै आशा जगाएको पाइँदैन, त्यसले आगामी पर्व पनि यस्तै हुने हो कि भन्ने आशंका व्यवसायीमा छ’, उनी भन्छन् ।

संघका पूर्व अध्यक्ष वैश्य भन्सारबाट घरायसी प्रयोजन भन्दै बिना भन्सार मालसामान ल्याउन दिंदा कम्तिमा सुविधाको एउटा फाराम भर्न अनिवार्य गर्नुपर्ने बताउँछन् । ‘यसले मात्रै कति राजश्व नोक्सानी भैरहेको एकिन हुन सक्छ’, उनी भन्छन् । ‘भन्सार दरका कारण मालासमानमा अलिकति फरक होला तर जिएसटी आयात गर्दा नलाग्ने भएकाले मूल्यमा खासै अन्तर हुँदैन’, वैश्यले भने, ‘सीमापारी सस्तो भन्दा पनि उपभोक्ताले पनि आन्तरिक आर्थिक क्षेत्र बलियो बनाउन आफ्नै देशमा खरिददारी गर्नुपर्छ ।’

नेपालगन्ज उद्योग वाणिज्य महासंघका महासचिव भीम बहादुर रानाभाटले पनि तिजमा नेपालगन्ज बजारमा खरिददारी उत्साहजनक नबढेको बताएको छ । किन त्यस्तो भयो भन्ने दैनिक नेपालगन्जको प्रश्नमा रानाभाटले भने, ‘अहिले तिजमा धेरै सामान भारतबाट आएको जस्तो लाग्छ । तिजमा बिक्री बढी हुने कुर्ता सुरुवाल, साडी हो, त्यो रूपैडिहाबाट नै आएको अनुभव गरेका छौं । केही बुटिक र थान कपडा पसलको व्यापार बढेपनि समग्रमा आशा गरेजस्तो व्यापार छैन ।’

महासचिव रानाभाटले संघले भन्सार कडाईका लागि पटकपटक पहल गरिरहेको बताउँछन् । ‘संघले गर्ने भनेको भन्सार कडाई गर्नका लागि ध्यानाकर्षण गर्ने हो । त्यो गरिरहेका छौं । रूपैडिहाले प्रश्रय पाइरहेको अवस्थालाई निरुत्साहित गर्नु संघको चाहना हो । त्यही अनुसार नै हामीले भन्सारको स्क्यानर बनोस् भन्ने चाहना थियो, पहल गर्यौं, त्यो अझै सम्भव भएको छैन ।’

‘नेपाली उपभोक्ताले सस्तोको भ्रममा सीमावर्ती भारतीय बजार पुग्ने गर्छन् ।

Exit mobile version