पीडितलाई क्षतिपुर्ति दिलाउने बाँके जिल्ला अदालतको फैसला नेपालगंज उच्च अदालतद्धारा सदर
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासद्वारा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले उपचारमा लापरवाही गरेको ठहर गर्दै मृतक परिवारलाई २६ लाख १० हजार क्षतिपूर्ति दिलाउने बाँके जिल्ला अदालतले गरेको फैसला सदर गरेको छ ।
नेपालगन्ज मेडिकल शिक्षण अस्पतालले एक बिरामीको उपचारमा लापरवाही गरेको ठहर गर्दै बाँके जिल्ला अदालतले २६ लाख १० हजार क्षतिपूर्ति दिलाउने गरि गरेको फैसलालाई उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले पनि जिल्लाकै फैसलालाई सदर गरेको गरेको हो ।
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्र बहादुर सारु र गोबिन्द जोशीको संयुक्त इजलासले पीडितको पक्षमा फैसला गरेको पीडित पक्षमा वकालत गरिरहेका अधिवक्ता बसन्त गौतमले जानकारी दिए । मुद्दामा पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठका साथै अधिवक्ताहरू बसन्त गौतम, बल बहादुर चन्द, बिश्वजित तिवारी र हिरा बहादुर श्रेष्ठले बहस गरेका थिए भने बिपक्षी नेपालगन्ज मेडिकल शिक्षण अस्पतालको तर्फबाट अधिवक्ता लोक बहादुर शाहले बहस गरेका थिए ।
नेपालगन्ज–२ घरवारीटोलका मनितलाल श्रेष्ठको उपचारमा अस्पताले लापरबाही गरेका कारण बिरामीको मृत्यु भएको जनाउदै मृतकका श्रीमती नम्रता श्रेष्ठले बाँके जिल्ला अदालतमा ०७६ श्रावण ३१ गते क्षतिपूर्ति मुद्दा दायर गरेकी थिइन् । ज्वरो आई अस्पतालको इमरजेन्सी वार्डमा लैजादा बिरामीको उपचारमा हेलचेक्राई गरिएको, ओजिटी गर्न आएका सिकाउ बिद्यार्थीलाई उपचारमा संलग्न गराएको दावी सहित उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ५०,५१ र ५२ अनुसार मृतकका परिवारले अस्पताल र उपचारमा लापरवाही गर्ने भनिएका चिकित्सकका विरुद्धमा क्षतिपूर्तिको मुद्दा दायर गरेका थिए । बाँके जिल्ला अदालतमा दायर क्षतिपूर्ति मुद्दाको ०७९ फागुन ११ गते सुनुवाई हुँदा बाँके जिल्ला अदालतका न्यायाधीश बिदुर काफ्लेको इजलासले अस्पतालको लापरवाहीका कारण बिरामीको मृत्यु भएको ठहर गर्दै बिपक्षी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट क्षतिपूर्ति दिलाउने आदेश गरेको थियो ।
उपभोक्ता संरक्षण ऐन २०७५ कायान्वयनमा आए पछि बाँकेमा दर्ता भएको पहिलो क्षतिपूर्ति मुद्दामा भएको अदालती निर्णयले उपभोक्ताको गुणस्तरिय सेवा पाउने अधिकारलाई संरक्षण गरेको पीडितको पक्षमा सुरु देखि कानूनी सहयोग गर्दै आएका अधिवक्ता बसन्त गौतमले बताए । मुद्दा दर्ता भएर अदालती प्रक्रियामा लामो समय लम्बिएर नेपालगन्ज उच्च अदालतबाट समेत मुद्दाको किनारा लाग्दा मृतकका परिवार अदालतको फैसला पछि सन्तुष्ट भएका छन् । अदालती फैसला पछिको संक्षिप्त प्रतिक्रिया दिदै मृतक मनितलाल श्रेष्ठकी श्रीमती नम्रता श्रेष्ठले अदालतको फैसलाले न्यायको अनुभुति भएको बताइन् ।