बैकुण्ठधाम : दुई हजार बढीको संगठित अभियान

बाँकेको डुडुवा गाउँपालिकास्थित राप्ती नदीमा बनाइने ’बैकुण्ठधाम सिधनियाघाट’ का लागि सुरु गरिएको अभियानले तिव्रता पाएको छ । बैकुण्ठधाम सिधनियाघाट निर्माणका लागि सुरु भएको अभियानमा शनिबारसम्म २ हजार बढी सदस्य संगठित भैसकेको बैकुण्ठधामका अध्यक्ष डा. सुरेश कुमार कडोडियाले जानकारी दिए ।

अध्यक्ष कनोडियाका अनुसार, सिधनियाघाट निर्माण योजनाका लागि डुडुवा गाउँपालिका–५ स्थित राप्तीनदी छेउमा करिब २८ कठ्ठा जग्गाा खरिद प्रक्रिया अगाडि बढिसकेको छ । ‘त्यसका लागि जग्गाधनीलाई बयाना रकम समेत दिइसकिएको छ’, अध्यक्ष डा. कनोडियाले पत्रकारहरूसँग भने, ‘कम्तिमा तीन विगाह क्षेत्रफल जग्गाको लक्ष्य सहित थप जग्गा खोजी कार्यमा हामी प्रयासरत् छौं ।’

सिधनियाघाट निर्माणका लागि आर्थिक सहयोग जुटाउन महोत्सव गरिँदैछ । आगामी कार्तिक २२ गतेदेखि ३० गतेसम्म आयोजना हुने महोत्सबको पूर्व तयारीमा मूल समारोह समिति लागिपरेको छ । ‘यो बाँकेको मात्रै नभई पश्चिम नेपालमै आध्यात्मिक गन्तव्यका लागि महत्वपूर्ण अभियान बन्न सक्छ’, शनिबार अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको छ ।

पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेर महोत्सबलाई सफल बनाउने कार्यमा सहकार्य गर्न सबैलाई आग्रह गरेको आयोजकले सनातन धर्म शास्त्रमा वर्णित मृत्यु संस्कारका लागि बनाइन लागेको बैकुण्ठधाम सिधनियाघाट नितान्त दाहसंस्कारका लागि मात्रै आध्यात्मिक गन्तव्यको थलोका रूपमा पनि सोंच बारे जानकारी गराएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आध्यात्मिक महोत्सवलाई सबै बाँकेबासी मिलेर सफल पार्नुपर्ने बताए । उनले महोत्सवप्रति सबैले अपनत्व लिनुपर्ने आवश्यकतामाथि जोड दिए ।

पत्रकार भेटघाटमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले बैकुण्ठधाम आध्यात्मिक महोत्सवलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिए । पण्डित पोखरेल दुई दिनदेखि आध्यात्मिक महोत्सवको पूर्व तयारीका क्रममा नेपालगन्जमा सक्रिय छन् ।

महोत्सव आयोजना मूल समितिका संयोजक समेत रहेका बैकुण्ठधाम सिधनियाघाटका अध्यक्ष डा. कनोडियाको अध्यक्षतामा भएको कार्यक्रममा सह–संयोजक भोला महत, सामाजिक अगुवा अजित कुमार शर्मा, महिला अगुवा ऋचा द्विवेदी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन गर्दै महासचिव श्रीराम सिग्देलले महोत्सवका लागि मूल समारोह समितिमा दुई हजार संगठित सदस्य भैसकेको जानकारी दिए । ‘यो क्रम जारी छ’, २५ सदस्यीय सचिवालय र १ सय ५ उपसमितिहरू गठन भैसकेको जानकारी दिंदै महासचिव सिग्देलले महोत्सव मार्फत जुट्ने आर्थिक सहयोगले बैकुण्ठधाम सिधनियाघाट निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

Exit mobile version