हुँदै हडियाबाबा मेला

नेपालगन्जमा धार्मिक आस्थाको केन्द्र हडियाबाबामा आगामी मंसिर २ गतेदेखि ६ दिने धार्मिक मेला लाग्ने भएको छ । प्रत्येक बर्ष हडियाबाबा धार्मिक मेला लाग्ने गर्दछ ।

आश्रम व्यवस्थापन समितिका अध्यक्ष वैश्यले आगामी आइतबारदेखि हुने धार्मिक मेलाका लागि विभिन्न समिति गठन गरिएको जानकारी दिएका छन् । ‘विगत जस्तै भव्य रूपमा मेलाको आयोजना हुनेछ, हजारौं दर्शनार्थी, भक्तजन, बाबाहरू मेलामा आउनु हुनेछ’, बुधबार आयोजित पत्रकार भेटघाटमा अध्यक्ष वैश्यले मेला तयारीमा जुटिरहेको बताउँदै भने ।

‘धार्मिक मेलामा श्रीरामलीला मञ्चन हुनेछ’ अध्यक्ष वैश्यले भने, ‘आइतबार मंसिर २ गते रुद्रि पुजा, ३ गते श्रीकृष्ण जनम, ४ गते कालिया नाग नाथन, ५ गते सुदामा चरित्र, ६ गते मीरा चरित्र र ८ गते धुनष यज्ञको कार्यक्रम तय गरिएको छ ।’

मेलामा करिब २० लाख बढी खर्चको अनुमान छ । तर, यो एकिन खर्च भने नभएको अध्यक्ष वैश्य बताउँछन् । ‘नगद सहयोग भन्दा पनि मेलाका बेला कसैले कुनै दिन खानाको, कसैले ध्वनिका लागि दाउराको, कसैले साधुसन्तलाई कम्बलको जिम्मेवारी लिने गर्नुभएको छ’, अध्यक्ष वैश्यले भने ।

नेपालगन्ज–६ रामनगरमा करिब २० कठ्ठा क्षेत्रफलमा फैलिएको श्री १००८ हडियाबाबा आश्रममा बाबाको समाधिसहित विभिन्न मन्दिर सहित गौशाला रहेको छ । पर्खालले घेरिएको मन्दिर परिसरभित्र पार्क छ । शान्त वातावरणमा रहेको हिडियाबाबा आश्रम धार्मिक आस्थाको केन्द्र पनि हो । तर, विभिन्न मेला बाहेक दर्शनार्थी कम नै हुने गर्दछन् । मन्दिर संरक्षणका लागि लगाइएको पर्खाल तथा आवश्यक प्रचारप्रसार नहुँदा नियमित पुजाआजा गर्न जानेको संख्या कम रहेको छ ।

हडियाबाबा आश्रम सीमित चन्दादाता र मन्दिरको आन्तरिक आयबाट चलिरहेको आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्य बताउँछन् । वैश्य नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । उनी विभिन्न सामाजिक संघ, संस्थामा पनि क्रियाशिल छन् । ‘हडियाबाबा प्रति मेरो बुबा निकै आस्था थियो, उहाँको आशिर्वादले नै म सफल छु’, आश्रमको नेतृत्व लिएको बारे धारणा राख्दै अध्यक्ष वैश्यले भने ।

‘मन्दिर शान्त, सफा र सुन्दर छ, यहाँ गौशाला, हनुमान मन्दिर, त्रैम्बकेश्वर महादेव मन्दिर, लक्ष्मीनारायण (रामजानकी) मन्दिर, सत्संग हल, पार्क रहेको छ’, अध्यक्ष वैश्य भन्छन् । आश्रम परिसरमा रहेको मन्दिरमा टाढाबाट आउने दर्शनार्थीलाई निशुल्क भोजनको समेत व्यवस्था गर्दै आएको पुजारी बताउँछन् । ‘यो आस्थाको केन्द्र हो, धार्मिक पर्यटनको सम्भावना पनि रहेको छ, तर यसको अझै प्रवद्र्धन आवश्यक रहेको छ’, मन्दिर व्यवस्थापन समिति भन्छ ।

Exit mobile version